Ad #144479

३० मंसिर, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्वन्धी अध्यादेश जारी गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा संवैधानिक परिषदको बैठकमा नजाने भएका हुन् । बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सभापति देउवा आजको संवैधानिक परिषद बैठकमा नजाने बताएका छन् । सरकारले ल्याएको अध्यादेशमा अमान्य रहेको उनले बताए । उनले भोलि बिहान पदाधिकारी बैठक बसेर यसबारे पार्टीको धारणा सार्वजनिक गर्ने बताएका छन् ।

बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी थिइन् । ११ संवैधानिक निकायमा रिक्त रहेका ४६ पदाधिकारी नियुक्तिको एजेन्डामा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले आज बैठक डाकेका थिए ।

प्रधानन्यायाधीश एक जना र महालेखापरीक्षक एक जनासहित १२ वटा संवैधानिक आयोगका ६२ पदमा संवैधानिक परिषदको निर्णयमा पदाधिकारीहरूको नियुक्ति हुने व्यवस्था छ । अहिले ४६ स्थान रिक्त छन् ।

संविधानको धारा २८४ ‘३’ मा ‘संवैधानिक परिषदले प्रधानन्यायाधीश वा संवैधानिक निकायका प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै यस संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नु पर्नेछ भनिएको छ ।