३० मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका एक नम्बरी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले संसदीय दलको प्रमुख सचेतक रहेका देव गुरुङको राजीनामा मागेका छन । पार्टी भित्र जस्तो सुकै समस्यामा परेको देखिएपनि ओली त्यसको परबाह नगरी आफूखुसी अगाडि बढ्ने मनस्थितिमा छन् ।
ओलीको ध्यानदृष्टि अब संसदीय दलको प्रमुख सचेतकमा परेको छ । उक्त पदमा हाल पूर्व माओवादी पक्षका देवप्रसाद गुरुङ रहेका छन् । संसदीय दलको वहुमत देखाउने अवस्था आयो भने प्रमुख सचेतकको भूमिका प्रभावकारी हुने भएकाले ओली गुरुङको ठाउँमा आफू अनुकुल नेता ल्याउन चाहन्छन् ।
त्यसैले गएको आइतबार उनले संसदीय दलको नेताको हैसियतले प्रमुख सचेतक गुरुङलाई बोलाएर राजीनामा गर्न भनेका थिए । तर गुरुङले आफूले कुनै हालतमा राजीनामा नदिने बरु हटाउन चेतावनी दिएका थिए । पार्टी विभाजनको अवस्थासमेत आउन सक्ने भएकाले अहिले नै संसदीय दलमा आफ्नो पकड बनाउन ओली पक्ष लागिपरेको छ ।
ओलीले आज बिहान ९ बजेका लागि अर्काे बैठक डाकेका थिए । बैठकमा शेर बहादुर देउवा पुगेपनि सभामुख अग्निप्रसाद सापकोटा भने गएनन् । त्यसैले साँझ ५ बजेका लागि ओलीले फेरि बैठक बोलाएका छन् । यसअघि बिहान ९ बजेका लागि आह्वान गरिएको बैठकमा परिषद सदस्य सभामुख सापकोटा अनुपस्थित भएकाले गणपुरक संख्याको अभावमा बैठक बसेको थिएन ।












