रमिता दंगाल
एउटा भनाई नै छ,‘संघर्ष नै जीवन हो र जीवन नै संघर्ष हो ।’ मानव जीवनमा आउने आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक, भौतिक अनेक परिवर्तनहरु संघर्षकै उपज हुन् । यसैमध्येको एक धार्मिक क्षेत्रमा संघर्ष गरी आफ्नो जीवनलाई युवावस्थामै सार्थक तुल्याउन सफल व्यक्तित्व भिक्षु तपस्सीधम्म महास्थविरको जीवन संघर्ष र योगदानबारे केन्द्रित दोस्रो अंक
श्रीलंकाबाट नेपाल फर्किएपछि
भिक्षु तपस्सीधम्म महास्थविर नेपाल फर्किएपछि २०५० साल बैशाख ४ गते भिक्षु अश्वघोष महास्थविरको संरक्षकत्व तथा नानीमैयाँ मानन्धरको दायकत्वमा श्रामणेर तपस्सीको उपसम्पदा सम्पन्न भयो । उहाँ भिक्षु जीवनमा प्रवेश गर्नुभयो । श्रीलंकामा बस्दा भिक्षु धम्मावासले चावहिलस्थित चारूमति स्तूपको बारेमा उहाँलाई धेरै कुराहरू जानकारी गराउनुभएको थियो ।
संघाराम विहारमा बस्दै गर्दा आफ्ना गुरू धम्मावासले जानकारी गराएको चारूमति स्तूपको सम्झना उहाँलाई भयो । त्यसैले उहाँ चारूमति स्तूप खोज्न र त्यसको बारेमा अध्ययन गर्न चावहिलतिर धाउन थाल्नुभयो । त्यसबेला चारूमति स्तूपलाई सुवर्णपुर महाविहार भनेर चिन्ने गरिन्थ्यो । उहाँले त्यहाँ गएर लोकबहादुर शाक्य लगायतका व्यक्तिहरूसँग चारूमति स्तूपको बारेमा जिज्ञासा राख्नुभयो ।
जसको सहयोगमा चारूमति स्तूपलाई सुवर्णपुर महाविहार अर्थात् धन्द्ध चैत्य भगवान स्थान भन्ने गरेको कुरा पत्ता लगाउनुभयो । अनि उहाँ स्तूपको अवलोकन गर्न त्यसतर्फ लाग्नुभयो । उहाँ पुग्दा स्तूपको वातावरण अत्यन्त दुर्घन्धित थियो । स्तूपका वरिपरि दिशा र पिसाब गर्ने गरिन्थ्यो । स्तूपको अत्यन्त दयनिय र उपेक्षित अवस्था देखेर उहाँको मन विछिप्त बन्न पुग्यो । उहाँले तत्कालै स्तूपको सरसफाई र जिर्णोद्वार गरेर संरक्षण गर्ने योजना बनाउनुभयो ।
चारूमति स्तूपको संरक्षण
आफ्नो योजना अनुरूप चारूमति स्तूपमा बसेर स्तूपको संरक्षण गर्ने र मानव जातिको सेवा गर्ने सोंच उहाँको मनमा आयो । तर बस्नका लागि व्यवस्थित कोठाको व्यवस्था थिएन । स्तूपसँगै एउटा पाटीमात्र थियो । त्यो भएको पाटीमा पनि ढल, शौचालय र पानीको व्यवस्था थिएन । पाटीको माथिल्लो तलामा गणेश, भैरब र चावहिलका शाक्यहरूले कुटुवहिलका मुर्तिहरू राखेका थिए । उहाँको योजना सफल हुने छाँटकाँट देखिएन ।
यत्तिकैमा चारूमति विहार (सुवर्णपुर महाविहार) मा उहाँलाई बस्ने व्यवस्था मिलाइदिन स्थानियहरू तयार देखिए । त्यसैबेला श्रीलंकाली भिक्षु धम्मावासले वर्षावासका लागि एकजना भिक्षु नेपाल पठाउन लागेको र उनको लागि चारूमति विहारमा बस्ने व्यवस्था मिलाउन उनलाई चिठी पठाए । त्यो चिठीले उहाँलाई थप चिन्तित तुल्यायो । उहाँ तत्कालै चारूमति विहार (सुवर्णपुर महाविहार) को कोठा निरिक्षण गर्न जानुभयो ।
कोठाको अवस्था राम्रो थिएन । चारैतिर फोहोरले भरिएको थियो । कोठाका झ्याल र ढोकाहरू समेत सबै बिग्रिएका थिए । ती कोठाहरूको सरसफाई र आवश्यक मर्मतसम्भार गरेर वि. सं. २०५० साल बैशाख ८ गतेदेखि भिक्षु तपस्सीधम्म त्यस महाविहारको बहिलमा बस्न थाल्नुभयो । यसै बहिलमा उहाँले तीन महिनाको आफ्नो वर्षावास सम्पन्न गर्नुभयो । वर्षावासको सुरूवातिदेखि नै उहाँले यस विहारमा बुद्ध पूजा सञ्चालन गर्ने, धार्मिक छलफल चलाउने र परियक्ती शिक्षाको समेत प्रारम्भ गरे । यस्तै बुद्ध मूर्तिलाई गाडीमा राखेर चावहिल क्षेत्र परिक्रमा गराउन उहाँ सफल हुनुभयो ।
चारुमतिका लागि आवश्यक प्रमाण
यति धेरै कामहरू गरेर सफलता प्राप्त गरेपनि उहाँ आन्तरिक रूपमा खुसी हुन सकिरहनु भएको थिएन । किनकि उहाँ चावहिल आउनुको प्रमुख उद्देश्य चारूमति स्तूप र चारूमति विहारको खोज र संरक्षण गर्नु थियो । त्यसमा सफलता प्राप्त गर्ने उहाँलाई कठिन भैरहेको थियो । यद्यपि उहाँ विचलित हुनु भएको थिएन । उहाँको प्रयास जारी थियो । कतिपय मानिसले चारूमति स्तूपलाई अशोक चैत्य, धन्द्व चैत्य, बजधातु चैत्य वा भगवान् स्थान भनेर सम्बोधन गर्दथे । जसले चारूमति स्तूपलाई चारूमति स्तूप नै हो भनेर भन्न स्थानियहरू अप्ठ्यारो मानिरहेका थिए ।
यसको लागि भिक्षु तपस्सीलाई लामो समय संघर्ष गर्नुपर्यो । उहाँले अहोरात्र सक्रिय भएर प्रमाणहरू जुटाउनु भयो । यसरी निरन्तरको खोज र प्राप्त प्रमाणहरूको आधारमा चारूमति स्तूपको नामाङ्कनलाई मान्यता दिन सबैजना तयार भए । उहाँको संघर्षले सार्थकता प्राप्त गन्यो । चारूमति स्तूप र उहाँको योगदानको चारैतिर चर्चा हुन थाल्यो । उहाँले तत्कालीन सुवर्णपुर महाविहार अर्थात् चारूमति विहारमा बसेर आफ्ना गतिविधि अगाडि बढाउन थाल्नुभयो । स्तूप वरिपरि सरसफाई, गाडी पार्किङ्गको व्यवस्था र पर्खाल लगाएर घेर्ने काम उहाँकै सक्रियतामा सम्पन्न भयो ।
२०५९ साल भदौ ६ गते अचानक चैत्यको उत्तर, पूर्व र पश्चिमका भागहरूको त्रयोदश भुवन चर्कियो । चैत्यको हर्मिका भन्दा माथि एकदेखि तीन तहसम्मको भुवन चर्किएर फाटेको थियो । उत्तर पूर्वमा सबैभन्दा बढी अर्थात् पाँच सेन्टीमिटर ढल्किएको थियो भने पूर्व दक्षिण, पश्चिम दक्षिण र पश्चिम उत्तरमा क्रमशः १, १५ र १५ सेन्टिमिटर ढल्किएको थियो । चैत्यको गजूर, त्रयोदशी भुवन र दुई आँखाहरू उप्किएको तथा १३ वटा खुड्किलामध्ये चारवटा खुडकिला वरिपरि चर्किएको थियो । भिक्षु तपस्सीले सम्बन्धित निकायहरू पुरातत्व विभाग, काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषलाई स्तूपको अवस्थितिका बारेमा जानकारी गराउनुभयो ।
चारूमति स्तूप संरक्षण तथा पुर्ननिर्माण समिति गठन
केही मानिसहरूका अवरोधका बीच स्तूपको बाहिर ‘चारूमति स्तूप’ को बोर्ड राख्न उहाँ सफल हुनुभयो । त्यसपछि उहाँकै अध्यक्षतामा विसं २०५९ भदौ ९ गते चारूमति स्तूप संरक्षण तथा पुननिर्माण समिति गठन भयो । उहाँ अध्यक्ष बनेपछि उहाँकै पहलकदमीमा २०६२ सालमा चारूमति स्तूप जिर्णोद्वार सम्पन्न गरियो । चारूमति स्तूपको अवस्थितिलाई नजिकबाट नियालिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायहरू उहाँको कार्यक्षमता र योगदानप्रति अत्यन्त उत्साहित बन्न पुगे । उहाँको काम र योगदानको चारैतिर प्रशंसा हुन थाल्यो । यसै क्रममा उहाँलाई देश देशान्तरका दर्जनौ संघ संस्थाहरूले सम्मान तथा अभिनन्दन गरे ।
चर्चा र प्रसंसा बढ्दो
भिक्षु तपस्सीधम्मको सक्रियतामा स्तूप जिर्णोद्वार भैरहेको समाचारको प्रभाव विश्वव्यापी रूपमा पर्यो । फलस्वरूप श्रीलंका, भारत, थाइल्याण्ड, जापान कोरिया, ताइवान, बर्मा, मलेशिया, तिब्बत, भियतनाम र लाओसका भिक्षुहरू नेपाल आएर स्तूपको निरिक्षण भ्रमण गरे । निरिक्षण पछि १२ देशका युवा भिक्षुहरूको भेलाले नेपालमा विश्व बौद्ध युवा संघ’ (डब्लुबीएसवाई) गठन गर्यो । यो संस्थाबाट अन्तर्राष्ट्रिय स्तरमै पहिलो पटक भिक्षु तपस्सी श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजपक्षेद्वारा श्रीलंकामा धम्मपुत्त को उपाधिसहित सन् २००६ मा सम्मानित हुनुभयो ।
यस्तै उहाँलाई सन् २००५ मा पनि शाक्य बेनिफिसियन्स् इन्टरनेशनल एशोसियनसन (एसबीआइए) ताइवानबाट मलेशियामा अन्तर्राष्ट्रिय स्तरको सम्मान प्रदान गरिएको थियो । स्तूपको संरक्षण एवम् जिर्णोद्वार सम्पन्न गरेर चर्चित बन्नु भएका भिक्षु तपस्सीधम्मलाई भिक्षुका रूपम केवल पूजापाठमा मात्र सिमित रहेर बस्न उपयुक्त लागेन । नेपाली समाजका अनगिन्ती समस्याहरूलाई अत्यन्त नजिकबाट नियालेका तपस्सीलाई सामाजिक सेवाका क्षेत्रमा पनि काम गर्ने भावना आयो । भगवान् बुद्धका अनुयायी उहाँ सामाजिक क्षेत्रमा लाग्न थाल्नुभयो । उहाँले भगवान् बुद्धका
यञ्चं अञ्ञे न रक्खन्ति, यो च अञ्ञे न रक्खन्ति ।
स वे राजसुखं सेति, कामेसु अनपेक्खवा ति ।।
अर्थात् ‘जुन व्यक्तिले अरू धेरै व्यक्तिलाई रक्षा गर्न सक्दैन, अरूको दुःख र पीडामा सहयोगी बन्न सक्दैन, केवल आफ्नो सुख र शान्ति मात्र हेर्छ भने ऊ कदापि मान्छे हुन सक्दैन । सार्थक मान्छे हुन आफू र लोकको भलो हुने काम गर्नुपर्छ ।’ भन्ने वाणीलाई अझ सार्थक बनाउन लाग्नुभयो ।
सामाजिक काममा सक्रिय
वि. सं. २०५६ सालमा ’चारूमति’ बुद्धिष्ट मिशन नामक संस्थाको स्थापना गर्नुभयो । यस संस्थाको संस्थापक अध्यक्षको रूपमा कार्यरत तपस्सीले समाजलाई अप्ठ्यारो परेको अवस्थामा आफ्नो हैसियत अनुरूप सहयोगहरूलाई अगाडि बढाउन थाल्नुभयो । उहाँले यस संस्थाको माध्यमबाट वि.सं २०६२/०६३ मा बाढी पीडितहरूका सहयोगार्थ ५ ट्रक लत्ताकपडा, त्यसकै अनुपातमा खाद्यान्नहरू र अन्य आवश्यक सामग्रीहरू वितरण गर्नुभयो । यस्तै उहाँले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्ने, बुद्ध जयन्ती समारोह मनाउने, आफ्नो जन्मदिनमा अपाङ्गहरूलाई ह्वील चियर वितरण गर्ने, असहाय र गरिब बालबालिकाहरूलाई कापी, कलम र पुस्तक प्रदान गर्ने, बृद्धाहरूलाई लत्ताकपडा फलफूल र औषधी वितरण गर्ने जस्ता महत्वपूर्ण कामहरूलाई निरन्तरता दिन थाल्नुभयो ।
भूकम्पका बेला सहयोग
२०७२ साल बैशाख १२ गते विनाशकारी भुकम्प आयो । भूकम्पको अनुभव उहाँलाई पनि भयो । जीवनमा पहिलोपटक यति ठूलो र विनाशकारी भुकम्पको अनुभव गर्नुभएका तपस्सी भुकम्प लगत्तै भुकम्पले पुर्याएको क्षतिको विवरण संकलन गर्न तत्कालै प्रभावित क्षेत्रको निरिक्षणमा निस्किनुभयो । भुकम्पको प्रभाव ग्रामिण भेगमा मात्र होइन उपत्यकामा समेत नराम्रोसँग परेको थियो । उहाँले भुकम्प गएकै दिन आफ्नो जन्मस्थान काठमाण्डौको बलम्बु, थानकोट, कीर्तिपुर तथा भक्तपुर र ललितपुरका केही स्थानहरूको भ्रमण गर्नुभयो । र आवश्यक राहत वितरणका लागि दौडधुप गर्न थाल्नुभयो ।
प्रारम्भिक चरणमा उहाँले उपत्यकाका १५ भन्दा बढ़ी स्थानहरूमा राहत वितरण गर्नुभयो । पछि मलेशिया, ताइवान, जापान, कोरिया र सिङ्गापुर लगायतका मुलुकहरूबाट सहयोग जुटाएर सिन्धुपलाञ्चोकको ८, काभ्रेको ५, दोलखाको ५, धादिङको चेपाङ बस्ती लगायत ५, मकवानपुरको ५ गाउँ लगायत २० भन्दा बढ़ी जिल्लाहरूमा खाद्यान्न र लत्ताकपडा लगायतका आवश्यक राहत सामग्री वितरण गरेर भूकम्पपिडितको सहयोगमा आफूलाई समाहित गराउनुभयो ।
बौद्ध दर्शनको विकास र पुस्तकमा योगदान
उहाँले सयभन्दा बढी अस्थायी घरटहरा र विद्यालयको भौतिक संरचनाहरू निर्माण गर्न महत्वपूर्ण योगदान गर्नुभएको छ । दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ÷संस्थाहरूमा संलग्न भिक्षु तपस्सीले परियक्ती शिक्षा सञ्चालन गर्नुका साथै बौद्ध संस्कृतिमा आधारित ‘बौद्ध त्रिरत्न बन्दना तथा बुद्धको सन्देश, बुद्ध पूजा विविध तथा संक्षिप्त परित्राण, चारूमति स्तूपको इतिहास र नेपाली बुद्धिजम, चारूमति र भ्वाइस’ जस्ता आधादर्जन पुस्तकहरू पनि प्रकाशित गराउनुभएको छ ।
भिक्षु तपस्सीधम्म बुद्ध शासनमा औपचारिक रूपले प्रव्रजित भएको ३७ वर्ष लागेको छ । प्रारम्भिक जीवनदेखि नै अनेक किसिमका दुःख, पीडा र कष्ट सहेर संघर्षको अग्नियात्रामा आफूलाई खराउनु भएका भिक्षु तपस्सीले भगवान बुद्धले भनेजस्तै आफ्नो मानव जीवनलाई सारपूर्ण र सार्थक गराउनुभएको छ । सामान्य गृहत्यागी भिक्षु भएर पनि पुरातात्विक महत्वको सम्पदाहरूको खोज, अध्ययन अनुसन्धान र तिनको संरक्षण तथा संबर्द्धनमा उहाँको भूमिका गृहस्थीहरूको तुलनामा धेरै माथि देखिन्छ ।












