२६ मंसिर, काठमाडौँ । नेपालका धेरैजसो ठाउँको हावाको प्रदुषण अस्वस्थ अबस्थामा पुगेको छ । नेपाल सरकारको वातावारण विभाग र विभिन्न संस्थाहरुले राखेका २२ वटा सबै प्रदूषण मापन केन्द्रहरुले हावाको अवस्था अस्वस्थ रहेको देखाएका हुन् ।
विराटनगर, धनगढी र भक्तपुरमा हावाको प्रदुषण अत्यन्तै अस्वस्थ अबस्थामा पुगेको छ भने काठमाडाैं उपत्यकामा रहेका सबैजसो मापन केन्द्रसँगै नेपालगञ्ज, महेन्द्रनगर, दाङ, हेटौडा, धनकुटा, भरतपूर लगायतका ठाउँमा रहेका मापन केन्द्रले रातो संकेत दिएर स्वास्थ्यका लागि खतरापूर्ण अबस्था रहेको बताएका छन् ।
मापन केन्द्रहरुले हावाको प्रदूषण मापन सूचकाङ्क अक्वा दुइ सय भन्दा बढि भएमा बैजनी रङ्ग देखाएर अत्यन्तै अस्वस्थ रहेको संकेत गर्छन् भने एक सय ५० देखी दुइ सयको बीचमा भएमा रातो रङ्ग देखाएर खतरापूर्ण रहेको संकेत गर्छन् । विश्व स्वास्थ्य सङ्गठनले हावाको प्रदूषण मापन सूचकाङ्क अक्वाको अन्तराष्ट्रिय मापदण्ड २५ तोकेको छ ।
यस्तै नेपालले ४० सा सीमित राख्ने लक्ष्य लिएको छ । तर अहिले देशका सबैजसो मापन केन्द्रमा अक्वा एक सय भन्दा उकालो लागेको छ । फोक्सोका रोगहरू, क्यान्सर, मुटुसम्बन्धी समस्या र मस्तिष्कघात सबै वायु प्रदूषणसँग जोडिएका डाक्टरहरु बताउँछन् । नेपालमा बढिरहेको वायु प्रदूषण र रोगको सम्बन्ध बढेसँग बिज्ञहरुले वायु प्रदुषणलाइ नयाँ धूम्रपानको संज्ञा दिन थालेका छन् ।












