काठमाडौं । सञ्चारकर्मी प्रकाश सुवेदीको रजतपट विभिन्न कारणसहित विवादमा छाइरहन्छ । पछिल्लो पटक भने यसमा नायिका स्वस्तिमा खड्का तानिएकी छिन् ।
उनले बिहीबार साँझ आधिकारिक फेसबुकबाट प्रकाश सुवेदीप्रति कटाक्ष प्रहार गरेकी हुन् । पछिल्लो समय रजतपट कार्यक्रमबाट धेरै कलाकारहरू विवादमा तानिएका छन् ।
साउनको अन्तिम सातातीर त प्रकाश सुबेदी स्वयं नै नायिकाप्रति अपमानजनक अभिव्यक्ति दिएपछि विवादमा परेका थिए । यद्यपी उनले केही दिनपछि उक्त अभिव्यक्तिबारे माफी मागे ।
प्रस्तोताले कार्यक्रममा भनेका छन्, ‘कुनै समय थियो हाम्रा कलाकारहरुलाई भ्याईनभ्याई हुन्थ्यो, अलि चलेका कलाकारलाई लिएर फिल्म बनाउन खोज्दा पनि एक वर्षपछि गएर सोच्नुपर्ने स्थिती थियो, त्यति व्यस्त थिए कलाकार, डेट दिनै गाह्रो, अहिले त कामधाम छैन, बुढो बोक्यो, हिँड्यो ।’
कार्यक्रम प्रस्तोताको यस्तो अभिव्यक्तिपछि नायिका स्वस्तिमा खड्काले श्रीमान निश्चल बस्नेतलाई बोकेको छोटो भिडियो देखाइएको छ ।
यसमा स्वस्तिमाले प्रतिक्रिया दिएकी छिन् । आफ्नो आधिकारिक फेसबुकमा उनले बिहिबार राती लेखेकी छिन्, ‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा अन्तर्वार्ता दिन आइन्नँ रजतपत’ ।
त्यस्तै सामाजिक सञ्जालमा उनका श्रीमान फिल्म निर्माता तथा अभिनेता निश्चल बस्नेतले लेखेका छन्, ‘बरु बुडा बोकेर हिडिन्छ तर जति फोन गरेपनि तिम्रोमा इन्टरभ्यू दिन आइन्न ल. भन्छे मेरी बुडी त ।’













