Ad #144479

प्रायः महिलाहरु महिनावारीका बारे कुरा गर्न लजाउँछन् । नेपाली महिलामाझ अझै पनि महिनावारी बारे धेरै भ्रम छ ।महिनावारी वा रजश्वला एउटा शारीरिक प्राकृतिक प्रक्रिया हो । यसप्रति कुनै पनि अन्धविश्वासको भर पर्नु हुदैन । त्यसैले हरेक महिलाले महिनावारीबारे वैज्ञानिक जानकारी लिन आवश्यक छ ।

महिनावारीको चक्र हरेक महिलामा फरक फरक हुनसक्छ । सामान्यता यो २८ दिनको चक्र हुन्छ । तथापी २२ देखि लिएर ३३ दिनसम्म महिनावारी चक्र सामान्य मानिन्छ । महिनावारी ढिलो हुदाँ गर्भवती हुने डर हुन्छ । तर कतिपय अवस्थामा स्वास्थ्य समस्याका कारण पनि यो चक्र ढिलो हुने गर्दछ ।महिनावारीको समयमा शरीरबाट रक्तश्राव हुदाँ डराउँनु पर्दैन । यो शरीरको रगत कम भएको होइन । महिनावारीको समय एक दिनमा करिब चार चम्चासम्म रक्तश्राव हुन्छ । यो सामान्य हो । तर यो भन्दा बढि भएमा एक पटक चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ ।

महिनावारीबारे हरेक किशोरीले जान्नु र बुझ्नु जरुरी छ । कतिपय बालिकालाई यसबारे जानकारी नहुँदा निकै समस्या पर्न आउँछ । पहिलो पटक महिनावारी हुँदा धेरै किशोरी आत्तिन्छन् । उनीहरूलाई के भइरहेको छ भन्ने नै थाहा हुँदैन । यस्तो अवस्थामा धेरै किशोरी अत्तालिने गर्छन् । यही विषय उनीहरूलाई ठूलो चिन्ताको विषय बन्छ । त्यसैले आमा, दिदी र स्कुलका शिक्षिकाहरूले महिनावारीबारे विस्तृतमा जानकारी दिनु अत्यन्त आवश्यक छ ।

समाजमा अझै पनि महिनावारी भएका महिलालाई छुवाछुत गर्ने गरिन्छ । यो एकदमै गलत हो । चेतनाको कमीले गर्दा यस्ता विचारले समाजमा जरो गाडेको छ । गाउँमा मात्र नभएर शहरबजारमा पनि यस्ता सोच भएका मानिस धेरै भेटिन्छन् । तर, यस्तो बेलामा महिलालाई परिवारका सदस्यको साथ र सहयोग निकै आवश्यक हुन्छ । महिनावारी भएको बेला दही, दूध खानमा रोक लगाइन्छ । तर, त्यही बेलामा धेरैभन्दा धेरै पोषणयुक्त खानेकुराको आवश्यकता पर्दछ । पश्चिमतिर अझै पनि महिनावारी भएकालाई गोठमा राख्ने प्रचलन छ । यो एक प्रकारको अन्धविश्वास हो ।

एक प्रकारको अन्याय हो । सफासुग्घर भएर ताजा खानेकुरा खानुपर्ने बेलामा उनीहरूलाई अँध्यारो कोठामा राखिन्छ । जसले गर्दा धेरै महिलाको अकाल मृत्यु हुन्छ । वास्तवमा, महिनावारी भएको बेलामा प्रशस्त तागतिलो खानकुरा खानुपर्छ । माछामासु, गेडागुडी, फलफूल र सागपात प्रशस्त मात्रामा खानुपर्दछ । साथसाथै सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ । स्यानेटरी प्याड सबैको पहुँचमा नहुन पनि सक्छ । प्याडको विकल्पमा नरम खालको कपडाको प्रयोग गर्नुपर्छ ।

आफूले प्रयोग गरेका कपडा लुकाउने, चिसोठाँउ राख्ने गर्नु हुँदैन । त्यसलाई सफासँग धोएर घाममा सुकाउनुपर्छ । यस्तो बेलामा सरसफाइमा ध्यान नदिँदा आफँैलाई घाटा हुन्छ । त्यसले क्यान्डिडायसिस भन्ने एक प्रकारको इन्फेक्सन हुन सक्ने सम्भावना हुन्छ । फोहोर र सुक्दै नसुकेको प्याड लगाउँदा र सरसफाइमा ध्यान नपु¥याउँदा यस प्रकारको समस्या देखापर्छ । त्यसैले सधैँ सफा प्याडको प्रयोग गर्नुपर्छ । साथै प्याडलाई बारम्बार परिवर्तन गर्नु पनि उत्तिनै आवश्यक छ । कतिपयले महिनावारी भएको बेलामा निकै पीडा महसुस गर्छन् ।
वास्तवमा यसलाई ‘क्रयाम्पिङ पेन’ भनिन्छ ।महिनावारीको समयमा व्यायाम गर्न हुदैन भन्नु भ्रम हो । यसले उल्टै पीडा कम गर्न मद्दत गर्छ । व्यायामले मांसपेशीमा अक्सिजनको आपूर्ति बढाउँछ, जसबाट शरीरमा आराम मिल्छ । त्यसैले महिनावारीको समयमा आराम गरेर मात्र नबस्दा हुन्छ ।महिनावारीको समयमा यौन सम्पर्क हुदाँ गर्भधारण हुँदैन भन्ने गलत धारणा हो ।

महिनावारीको समयमा पनि महिला गर्भवती हुन सक्छन् । महिनावारीको चक्र २८ दिनभन्दा कम भएका महिला महिनावारीको समयमा गर्भवती हुने सम्भावना अधिक हुन्छ ।तर अधिकाशं अवस्थामा महिनावारी हुदाँ गर्भ रहने संभावना कम हुन्छ । हुदैन भन्ने चाहि होइन ।महिनावारीका बेला यौन सम्पर्क राख्नु हुदैन भन्ने हुदैन । यसबेला शरीरमा रक्तश्राव हुने भएकाले असहज वा दिङ्गदिङ्ग लाग्ने गर्दछ । तथापी केही चिकित्सक महिनावारीको समयमा यौन सम्पर्क गर्दा ज्यान दुखेको निको हुने बताउछन् । यो बेला सेक्स गर्दा पीडामा कमी आउँने उनीहरुको तर्क छ ।