२४ मंसिर, काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच आज बुधबार दोस्रो पटक एकीकरण हुँदैछ । बिहान १० बजे साझा पार्टीका संयोजक रविन्द्र मिश्र र विवेकशीलका अध्यक्ष मिलन पाण्डेबीच पार्टी एकीकरणको सम्झौता पत्रमा हस्ताक्षर हुनेछ ।
त्यसपछि अपरान्ह साढे ३ बजे भर्चुअलरुपमा एकीकरणको घोषणा गर्ने तयारी गरिएको विवेकशीलका केन्द्रीय सदस्य हरिशप्रसाद भट्टले बताए । जुममार्फत गरिने घोषणासभामा सम्झौता पत्रमा हस्ताक्षर गरिएको भिडियोसमेत प्रशारण गर्ने तयारी रहेको उनले बताए ।
एकीकृत पार्टीको लोगो र चुनाव चिह्न यसअघिको एकीकृत पार्टीमा झैँ तराजु नै हुने सहमति भएको छ । साझा पार्टीका मिश्र पहिलो वरियताका अध्यक्ष र विवेकशीलका पाण्डे दोस्रो वरियताका संयोजक हुनेछन् । यद्यपि, दुवैसमक्ष कार्यकारी अधिकार हुनेछ । पार्टी एकीकरणलाई विगतमा भएको विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमायाचना गर्ने प्रयत्न भएको दुवै पार्टीका नेताहरुको बुझाइ छ ।
यसअघि २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो । त्यसबेला विवेकशीलका उज्जवल थापाले रवीन्द्र मिश्रले पार्टी एकलौटी ढंगले अघि बढाएको आरोप लगाएका थिए । पार्टी फुट्नु १६ महिनाअघि मात्रै दुई पार्टीबीच एकता भएको थियो ।
दोस्रो पटक हुन लागेको एकताको पूर्वसन्ध्यामा साझा पार्टीका मिश्रले विगतका कमजोरीप्रति क्षमायाचना गर्दै विवेकशील साझा पार्र्टीलाई देशको वास्तविक रुपान्तरणको संवाहक बनाउनेमा विश्वस्त रहेको बताएका छन् ।
एकीकृत पार्टीलाई बहुलवादमा आधारित कल्याणकारी लोकतन्त्र, समन्वयात्मक बजार अर्थतन्त्र र सामाजिक न्यायको मान्यतासहितको वैकल्पिक राजनीतिक शक्तिको रुपमा विकास गर्न चाहेको पार्टीका नेताहरु बताउँछन् ।
दुवै पार्टीका नेताहरुले राजनीतिलाई पेसा नभइ सेवामा रुपान्तरण गर्ने उद्घोषसहित राज्य व्यवस्था र सामाजिक संरचनाहरूमा सह–अस्तित्व, सहकार्य र एकता सुनिश्चित गर्ने र लोकतान्त्रिक बहुलवादप्रति प्रतिबद्ध रहने पार्टी निर्माणको घोषणा गर्ने तयारी गरिएको बताएका छन् ।









