सुराकीको आरोपमा शिक्षक श्रेष्ठकाे टाउकोमा गोली हानेर हत्या

२३ मंसिर, मोरङ । मंगलबार बिहानै सुराकीको आरोपमा एक शिक्षक राजेन्द्र श्रेष्ठकाे गाेली हानी हत्या भएकाे छ । घटना मोरङको मिक्लाजुङकाे हाे ।  ५४ वर्षीय श्रेष्ठलाई घरबाटै उठाएर करिब एक किलोमिटर पर पुर्याई टाउकोमा गोली हानेर विप्लव समूहले हत्या गरेको प्रहरीले जनाएको हाे ।

आज बिहान करिव सवा ६ बजेतिर चार पाँच जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएका थिए । शिक्षक श्रेष्ठलाई घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा हत्या भएको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ ।

 शिक्षक श्रेष्ठ गाउँमै रहेको सरस्वती आधारभूत विद्यालयमा पढाउँदै आएका छन्  ।  शिक्षक श्रेष्ठको घर नजिकै रहेको स्थानबाट दशैँकाे बेला प्रहरीले विप्लव समूहका दुईजना नेतालाई हतियारसहित पक्राउ गरेको थियो ।

प्रहरी स्रोतका अनुसार मिक्लाजुङ नेत्र विप्लव चन्द समूहको सैन्य अभ्यास गर्ने क्षेत्र हो । पाँचथर, इलाम धनकुटा र मोरङको सीमावर्ती क्षेत्र मिक्लाजुङमा विप्लव समूहले सैन्य अभ्यास हुँदै गएको जानकारीका आधारमा गत कात्तिक १२ गते मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो । तर विकट क्षेत्रमा मोबाइल नेटवर्कले काम नगर्दा विप्लव समूहका कार्यकर्ता भागेका थिए ।

[sidebar name="button post"]