तपाईलाई थाहा छ ? नेपालमा महिलाभन्दा पुरुष बढी खुसी किन ?

२२ मंसिर, काठमाडाैं । के तपाईलाई थाहा छ ? हामी किन सफल हुन खोज्छौं, किन धन आर्जन गर्ने चाहना राख्छौं, किन लोकप्रिय हुने प्रयास गर्छौ, किन नाम कमाउन चाहन्छौं, किन मिठो मसिनो खान खोज्छौ, किन रमाइलो गर्न मन गर्छौ ?

यी सबै प्रश्नको एकमुष्ठ जवाफ हो, खुसी हुनका लागि । आखिर हामी जे जति काम गर्छौ, ति सबैको सार हो, खुसी । मिठो खाएर होस्, नाचगान गरेर होस्, प्रतियोगिता जितेर होस्, सुविधा भोग गरेरै होस् हामीले खुसी खोजिरहेका हुन्छौ ।

यहि खुसीलाई मध्यनजर गर्दै राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्याङ्क विभागको एक अध्ययनले नेपालमा महिलाभन्दा पुरुष बढी खुसी रहने गरेकाे देखाएकाे छ । केन्द्रीय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण–२०७५/७६ अनुसार १५–२४ वर्ष र १५–४९ वर्ष उमेर समूहमा महिलाभन्दा पुरुष बढी खुसी पाइएको हो ।

अध्ययनअनुसार १५–२४ वर्ष उमेर समूहका युवतीहरु ६८ प्रतिशत र युवाहरु ६९.६ प्रतिशतले ज्यादै वा केही हदसम्म खुसी व्यक्त गरेका छन् । यस्तै १५–४९ वर्ष उमेर समूहका महिलाहरु ६२.४ प्रतिशत तथा पुरुष ६४.७ प्रतिशतले ज्यादै वा केही हदसम्म खुसी व्यक्त गरेका छन् ।

यस्तै १५–२४ वर्ष उमेर समूहका ५०.१ प्रतिशत युवती तथा ५६.४ प्रतिशत युवाले गत वर्षभन्दा आगामी वर्षमा अझ राम्रो जीवनस्तर सुधार हुने अपेक्षा व्यक्त गरेको पाइएको छ । १५–४९ वर्ष उमेर समूहमा ४५.४ प्रतिशत महिला तथा ५२.५ प्रतिशत पुरुषले अझ राम्रो जीवनस्तरमा सुधार हुने अपेक्षा व्यक्त गरेका छन् ।

महिलाभन्दा पुरुषले चार गुणा बढी मदिरा पिउँछन । मदिरा तथा सूर्तिजन्य पदार्थ सेवनबारे समेत अध्ययन गरिएको थियो, जसमा महिलाको तुलनामा पुरुषले मदिरा र सुर्तिजन्य पदार्थ धेरै गुणा बढी सेवन गर्ने गरेको पाइएको छ ।

१५–४९ वर्ष उमेर समूहमा ९.१ प्रतिशत महिला र ४०.६ प्रतिशत पुरुषले ले कम्तीमा महिनामा एक पटक दिनमा मदिराजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ । यही उमेर समूहका ७.९ प्रतिशत पुरुष र ५.१ प्रतिशत महिलाले १५ वर्षअगाडि नै पहिलो पटक मदिराजन्य पदार्थ सेवन बताएका छन् ।

[sidebar name="button post"]