आज नेकपा सचिवालय बैठक बस्दै

२० मंसिर, काठमाडौं । नेकपा सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीभित्रको विवाद समाधान कसरी गर्ने भन्नेबारे छलफल हुने नेकपा स्रोतले जनाएको छ । यसअघि बुधबार बसेको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली सहभागी हुनुभएको थिएन ।

आजको बैठकमा भने उहाँ सहभागी हुने ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । यसैबीच, नेता नारायणकाजी श्रेष्ठले पनि बैठकमा प्रधानमन्त्री ओली सहभागी हुनेमा आफू आशावादी भएको तर प्रधानमन्त्री अनुपस्थित भएमा बैठक रोक्न नमिल्ने जटिल परिस्थितिमा आइपुगेको संकेत बताउनु भएकाे छ ।

यता पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पनि पूर्वनिर्धारित पार्टी कमिटी बैठक अब कुनै पनि हालतमा रोक्न नमिल्ने बताए।  प्रधानमन्त्री ओलीको अनुपस्थितिमा बैठक नरोकिने र प्रधानमन्त्री ओलीले बैठकलाई छल्न खोज्ने सबै प्रयासहरु बिफल हुने निष्कर्षमा पुगेकाे स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बताउनु भयाे । उहाँले ओलीको नेतृत्व र कार्यशैलीलाई लिएर सुरुवातदेखि नै रुष्ट अब प्रधानमन्त्री ओली भागेर जाने कुनै पनि ठाउँ नभएको बताउनु भयाे।

नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद बढ्दै जाँदा नेकपा सचिवालय बैठक अर्थहीन हुँदै आएको छ । एक-अर्काबीच गम्भीर आरोप-प्रत्यारोपसहित बेग्लाबेग्लै राजनीतिक प्रस्ताव अघि सारेका दुई अध्यक्ष आ-आफ्नो रणनीतिलाई बलियो बनाउन सक्रिय हुँदै आएका छन् । दुई अध्यक्षलाई मिलाउन दोस्रो र तेस्रो तहका नेताहरु सक्रिय हुँदै आएका छन् ।

हिजो दिनभर नेताहरु सहमतिका लागि छलफल गरे पनि प्रयास सफल हुन सकेन । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले अनौपचारिक छलफल गरेर निचोड निकाल्नुपर्ने र केही समयका लागि सचिवालय बैठक रोक्नुपर्ने पक्षमा हुनुहुन्छ भने कार्यकारी अध्यक्ष प्रचण्ड बैठकबाटै सबै समस्याको समाधान खोज्नुपर्ने पक्षमा रहनुभएको छ ।

[sidebar name="button post"]