नेविसंघ झापा भन्छ:- उपप्रमुखकाे गाडी रोकेको हो, जलाउन खोजेको होइन ! 

१९ मंसिर, झापा।  नेपाल विद्यार्थी संघ ‘नेविसंघ’झापाका सभापति राजेन्द्र उप्रेतीले केन्द्रको निर्देशनानुसार सरकारी गाडीहरुलाई चलाउन नदिने क्रममा बिहीबार मेचीनगरका उपप्रमुख मीना उप्रेती चढेको गाडी कार्यकर्ताहरुले रोकेको स्वीकार गर्नुभएको छ । यद्यपि उपप्रमुखले दावी गर्नु भएजस्तो सरकारी गाडी जलाउन नखोजेको उहाँले बिहीबार साँझ प्रेस विज्ञप्तिमार्फत उल्लेख गर्नुभएको छ ।

 नेविसंघ झापाका सभापति उप्रेतीले बुधबार तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेको विरोधमा संघको केन्द्रीय कार्यक्रमअनुसार बिहीबार देशैभरि सरकारी गाडी चल्न नदिने निर्णय भएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

मेचीनगर नगरपालिका–१३ चारआलीस्थित पूर्व पश्चिम राजमार्गमा मे१झ १७२ नंको सरकारी गाडीमा रहेकै अवस्थामा नेविसंघको कार्यकर्ता बताउने दुई व्यक्तिले पेट्रोल छर्केर आफूलाई जलाउन खोजेको उपप्रमुख उप्रेतीले बताउँदै आउनुभएको छ ।

नेपाल आयल निगम चारआली डिपोको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेको बेला बिहीबार अपराह्न ३ बजेतिर आफू सवार गाडीमा आगजनीको प्रयास भएको उपप्रमुख उप्रेतीको भनाइ छ ।

[sidebar name="button post"]