राष्ट्रपतिसँग नेकपाका दुवै अध्यक्षकाे भिन्दाभिन्दै भेटवार्ता

१८ मंसिर, काठमाडौं । पार्टी एकता नै संकट र उत्कर्षमा पुगेका बेला बिहीबार नेकपाका दुवै अध्यक्षले राष्ट्रपतिसँग भिन्दाभिन्दै भेटवार्ता गरेका छन् ।  बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र साँझ अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका हुन् । नेकपाभित्र आन्तरिक संकट गहिरिँदै गएपछि राष्ट्रपति भण्डारीले पुन: भेटघाट थालेकी छन् ।

बुधवार ओली सहभागी नभएको नेकपाको सचिवालय बैठकले सचिवालय र स्थायी कमिटी बैठक तीन दिन पछाडि सारेपछि त्यसबीचमा अनौपचारिक छलफल अगाडि बढाउने निर्णय भएको थियो । त्यसको अर्को दिन पार्टीका दुवै अध्यक्षले राष्ट्रपति भण्डारीसँग भेटघाट गरेका हुन् ।

मन्त्रिपरिषद् बैठक अगाडि बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले शितलनिवास पुगेर राष्ट्रिपति भण्डारीसँग झन्डै दुई घण्टा लामो छलफल गरेका थिए । छलफलको विषयबस्तुबारे शितलनिवास र बालुवाटारबाट केही बताइएको छैन ।

प्रधानमन्त्री ओली शीतलनिवासबाट फर्केपछि अपरान्ह प्रचण्ड राष्ट्रपतिलाई भेट्न पुगेका थिए । ओली फर्किएलगत्तै प्रचण्ड शीतलनिवास पुग्नुलाई चासोका साथ हेरिएको छ । प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले पार्टीका नेताहरु आपसमा मिलेर अघि बढ्न आग्रह गरेको स्रोतले बतायो । प्रचण्डले भने केपी ओलीकै कारण समस्या आएको राष्ट्रपतिलाई बताएका थिए ।

प्रचण्ड शीतल निवास जानु अगाडि नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ खुमलटार पुगेका थिए । गत कात्तिक १८ मा नेकपा विवाद चर्किएको बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले राष्ट्रपतिसँग भेटेका थिए । भेटपछि गौतमले पार्टी एकता बचाउन राष्ट्रपतिले आग्रह गरेको र आफूले सकारात्मक जवाफ दिएको बताएका थिए ।

गत वर्ष मंसिर ४ मा त शीतलनिवासमा राष्ट्रपति भण्डारीलाई साक्षी राखेर नेकपा दुई अध्यक्षबीच सरकार र पार्टी सञ्चालनको कार्यविभाजनमा सहमति नै भएको थियो । नेकपा विवाद निर्णायक मोडमा पुगेका बेला भण्डारीले विवाद समाधानमा सक्रियता देखाउँदै आएकी छिन् । नेकपा विवादमा राष्ट्रपति भण्डारीको चासो र समाधानमा सक्रियतालाई लिएर उनको आलोचनासमेत हुँदै आएको छ ।

[sidebar name="button post"]