१७ मंसिर, काठमाडाैं । प्रहरी नियन्त्रणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । स्थानीय पुल उद्घाटन गर्न गृहजिल्ला तनहुँ पुगेका नेता पौडेल पक्राउपछि भएको चौतर्फी दबाबपछि प्रहरीले उनलाई रिहा गरेको हो ।
तनहुँमा भएको तनावका बीच प्रहरीले वरिष्ठ नेता पौडेलसहित १२ जना कांग्रेस नेता कार्यकर्तालाई पक्राउ गरेको थियो । प्रहरीले ६ जना नेकपा कार्यकर्ताहरुलाई पनि पक्राउ गरेको छ ।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता पौडेललाई तत्काल रिहाई नगरे देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिएका थिए ।
सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत टेलिफोनमार्फत पौडेलको रिहाईको माग गरेका थिए ।












