१७ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई टेलिफोन गरी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहाइ गर्न भनेका छन्।
बुधबार तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ। पुल उद्घाटनको विषयलाई लिएर नेकपा र कांग्रेसबीच झडप हुन सक्ने भन्दै बुधबार बिहानैदेखि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।
दिउँसो निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न पौडेल गएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। पौडेल पक्राउ परेपछि सभापति देउवाले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेका हुन्। सभापतिले प्रधानमन्त्रीसँग टेलिफोन कुराकानीमा वरिष्ठ नेता पौडेललाई नियन्त्रणमा लिनु पर्नाका कारणसमेत सोधेका थिए।
तनहुँमा मंगलबार पनि पुल उद्घाटन कार्यक्रम विवादित बनेको थियो। आज पनि पौडेलले अर्को पुल उद्घाटन गर्न लागेपछि नेकपाले विरोध गरेको छ।
पौडेललाई रिहाइ गर्न माग गर्दै तनहुँमा जिल्ला प्रहरी कार्यालयअगाडि कांग्रेस कार्यकर्ताले टायर बालेर प्रदर्शन गरिरहेका छन्। यता काठमाडौंको माइतीघरमा पनि नेविसंघले प्रर्दशन गरिरहेका छन् ।












