Ad #144479

१६ मंसिर, काठमाडौं । आफूमाथि आरोप प्रत्यारोप भएपछि प्रधानमन्त्री केपी शर्मा ओली भोलिको सचिवालय बैठकमा उपस्थित नहुने चेतावनी दिएका छन् । मंगलबारको बैठकमा आफूमाथि एकहोरो आक्रमण भएको भन्दै ओलीले बैठकमा नजाने चेतावनी दिएका हुन् ।

आफूमाथि आरोपपत्र दायर गरेर बदनाम गरिएको, सहयोग गर्नुको साटो एक्ल्याएर आक्रमण गरेको र सत्ताको स्वार्थमा पार्टीलाई बदनाम गराउने काम भएको ओलीको चित्त दुखाई छ । मंगलबारको बैठकमा प्रचण्डले ओलीमाथि आक्रोश व्यक्त गरेका थिए ।

यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले पनि ओलीकै कारण पार्टी सकिने अवस्था आएको भन्दै कडा आलोचना गरेका थिए । पूर्व एमालेको एकता देखाएर पार्टी फुटाउने दुस्साहस नगर्न पनि नेपालले चेतावनी दिएका थिए ।

प्रचण्ड, माधव नेपालसहितका नेताहरुबाट घेराबन्दीमा परेपछि भोलि दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठकमा नजाने ओलीले अडान लिएका हुन् ।

सचिवालय बैठकमा ओलीका कामप्रति असन्तुष्टि जनाउँदै प्रचण्डले शुरुमा प्रतिवेदन प्रस्तुत गरेका थिए । जवाफमा अध्यक्ष ओलीले जवाफी प्रतिवेदन पेश गरेपछि नेकपाभित्रको विवाद साम्य हुन सकेको छैन् ।