१६ मंसिर, म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाले वडा नं ५ स्थित हाडेभिरमा १५ श्ययाको अस्पताल बनाउने भएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौर बजार नजिकै हालको अर्मन स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर अस्पताल बनाउन लागेको हो ।
स्वास्थ्यचौकी परिसरमा नयाँ बन्ने अस्पताल भवनको सोमबार गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिलान्यास गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताउनुभयो । सङ्घीय सरकारको कार्यक्रमअनुसार अध्यक्ष रोकाले धार्मिक विधिअनुसार पूजापाठ र जग राखेर अस्पताल शिलान्यास गर्नुभएको हो । निर्माणको काम भने डिपिआर तयार र ठेक्का प्रक्रिया सकिएपछि मात्र हुनेछ ।
अस्पताल बनाउन गाउँपालिकाले दुई वर्षअघि आठ रोपनी जग्गा खरिद गरेको थियो । स्वास्थ्यचौकीको पुरानो भवन, अहिले चालु अवस्थामा रहेको भवन र नयाँ खरिद गरेकोसहित १३ रोपनीभन्दा बढी जग्गा व्यवस्थापन गरिएको छ । अस्पताल बनाउन राष्ट्रिय योजना आयोगको सःशर्त अनुदान शीर्षकमा चालु आर्थिक वर्षमै रु एक करोड ५० लाख बजेट विनियोजन भएको अध्यक्ष रोकाले बताउनुभयो ।
विस्तृत परियोजना प्रतिवेदन तयार पारेर ठेक्का आह्वान गरी चालु आवभित्रै भवन निर्माण शुरु गर्ने तयारी गरेको उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो । हाँडेभिरमा रहेको अर्मन स्वास्थ्यचौकीमा गाउँपालिकाले कोरोना सङ्क्रमितको उपचारका लागि कोरोना अस्पतालसमेत स्थापना गरेको छ ।
मङ्गला गाउँपालिकाले मात्र सोमबार अस्पतालको भवन शिलान्यास गरेको हो । धवलागिरि र रघुगङ्गा गाउँपालिकामा स्थान विवादका कारण शिलान्यास प्रभावित भएको छ । अन्नपूर्ण गाउँपालिकाले ठाउँ छनोट गरिनसकेका कारण शिलान्यास गर्न सकेन । बेनी नगरपालिकाभित्रै बेनी अस्पताल छ । मालिकाको केन्द्र दरवाङमा प्राथमिक स्वास्थ्य केन्द्र छ ।
गाउँमै अस्पताल बन्ने खबरले उत्साहित भएका स्थानीयवासी विवाद र जग्गा छनोटमा भएको ढिलासुस्तीले अलमलमा परेका दोवाका धनबहादुर पाइजाले बताउनुभयो । स्थानीय तहहरुको अस्पताल बनाउन प्रस्तावित जग्गाको मूल्याङ्कनका लागि प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको समितिले सबै प्रस्तावित जग्गाको स्थलगत निरीक्षण गरेको छ ।
अस्पताल बनाउन सरकारले अन्नपूर्ण र धवलागिरि गाउँपालिकालाई रु ७०र७० लाख, रघुगङ्गा र मङ्गला गाउँपालिकालाई रु ८५र८५ बजेट पठाएको छ । विवाद समाधान गरेर सबै पालिकावासीलाई पायक पर्ने ठाउँमा अस्पताल बनाउन पहल गरिएको जनप्रतिनिधिले बताएका छन् ।











