१६ मंसिर, मुस्ताङ । मुस्ताङको कोरलामा सुख्खा बन्दरगाह निर्माण गर्न सरकारले अध्ययन थालेको छ । चीनसँगको तेस्रो नाकाबाट दुई देशीय व्यापार अभिवृद्धि गर्न बन्दरगाह निर्माणको अध्ययन सुरु भएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
कोरला पासको भौगोलिक अवस्था र उपयुक्त भूमि पहिचान गरी सुख्खा बन्दरगाहको काम अघि बढाउन परामर्शदातासँग करार सम्झौता गरिएको विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।
परामर्शदातालाई सुख्खा बन्दरगाहको भौगोलिक अवस्था पहिचान गर्ने, बन्दरगाह निर्माणका लागि प्रारम्भिक खाका र लागत अनुमान गर्ने जिम्मेवारी तोकिएको छ ।
यस्तै कोरला क्षेत्रको व्यापारको आकार, शीपमेन्ट तथा ट्रक ढुवानीको पाँच, दश र २५ वर्षे पूर्वानुमान पनि अध्ययनबाट प्राप्त हुने विकास समितिले जनाएको छ । बन्दरगाहको वित्तीय तथा आर्थिक खाका र विस्तृत इन्जिनियरिङ अध्ययनका लागि कार्यादेश पनि प्राप्त हुने जनाइएको छ ।
पूर्वाधार बनाएर नेपाल–चीन व्यापार सम्भावनाबारे अवलोकन गर्न गत महिना परराष्ट्र र वाणिज्य मन्त्रीसहितको टोलीले कोरलाको स्थलगत अवलोकन गरेको थियो । नेपालले परम्परागत रुपमा व्यापार गर्दै आएको यो नाका कोरोना संक्रमण सुरु भएपछि गत माघ महिनादेखि बन्द छ ।










