१६ मंसिर, काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
यसअघि प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमा ओलीले पनि काउन्टर प्रतिवेदन पेश गरेका थिए । दु्ई अध्यक्ष आरोपपत्र भनिएको प्रतिवेदनमाथि सचिवालयमै छलफल गर्ने वा स्थायी कमिटी र केन्द्रिय समिति बैठकमा लैजाने विषयमा अन्यौल छ ।
प्रचण्ड लगायतका वरिष्ठ नेताहरुले दुवै प्रतिवेदन स्थायी कमिटी र केन्द्रिय समिति बैठकमै लैजानुपर्ने धारणा राखेका छन् । तर तल्ला कमिटी बैठकमा आफू अल्मपतमा रहेकाले ओलीले सचिवालयबाटै प्रचण्डको प्रस्ताव खारेज गर्न चाहेका छन् ।
दुई अध्यक्षबीचको विवादले सचिवालय बैठक प्रभावित हुने सम्भावना पनि उत्तिकै छ । यसका साथै केन्द्रिय कमिटी र स्थायी कमिटीका नेताहरु पनि चिन्तित बनेका छन् । दुई अध्यक्षबीच कुरा नमिल्दा मंसिर १८ गते बोलाइएको स्थायी कमिटी बैठक र मंसिर २५ गते बोलाइएको केन्द्रिय समिति बैठक पनि तोकिएकै समयमा हुनेमा अन्यौल छ ।











