ओलीकाे नेतृत्वमा महासभाको विशेष अधिवेशनमा सहभागी हुने प्रतिनिधिमण्डल गठन

१४ मंसिर, काठमाडौं । मन्त्रिपरिषदकाे बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका नेतृत्वमा संयुक्त राष्ट्रसङ्घीय महासभाको विशेष अधिवेशनमा सहभागी हुन १३ सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ । यही मङ्सिर ७ र १० गते बसेको मन्त्रिपरिषदकाे निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ महामारीसम्बन्धी मङ्सिर १८ र १९ गते हुने विशेष अधिवेशनका लागि प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो ।

बैठकले सरकारले यही मङ्सिर २२ गते हुने वाणिज्य सचिवस्तरीय अन्तर सरकारी समिति र मङ्सिर १८ र १९ गते हुने नेपाल–भारत वाणिज्य सहसचिवस्तरीय अन्तर सरकारी उपसमितिको श्रव्यरदृश्य बैठकमा सहभागिताका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

सरकारले ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र तराई मधेश आन्दोलनका घाइतेको तथ्याङ्क सङ्कलन गरी निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता गुरुङले सार्वजनिक सूचना जारी गरी ऐतिहासिक आन्दोलनदेखि विभिन्न समयमा भएका आन्दोलनमा घाइते भई उपचार गर्नुपर्ने अवस्थामा रहेका व्यक्तिको तथ्याङ्क सङ्कलन गरी सरकारी अस्पतालमा निःशुल्क उपचार गरिने सरकारले निर्णय गरेको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड कर्मचारी प्रशानस विनियमावली, २०७७, सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७, नेपाल सरकार ‘कार्य सम्पादन छैटौँ संशोधन’ नियमावली, २०७७, र नवप्रवर्तन शुरुआती पूँजी कर्जा प्रवाह कार्यविधि, २०७७ स्वीकृत गरेको छ । बैठकले नेपाल लेखापरीक्षण सेवा ‘गठन, श्रेणी विभाजन र नियुक्ति’नियमहरू, २०७७ को मस्यौदामा लोकसेवा आयोगको परामर्श माग गर्न स्वीकृति दिएको छ ।

[sidebar name="button post"]