१४ मंसिर, काठमाडौँ। अमेरिकामा नेपाली कथानक चलचित्र ‘रेड वाइन’ निर्माण हुने भएको छ। उक्त प्रेमकथामा आधारित चलचित्रमा पहिलोपटक पल शाह र साम्राज्ञी राज्ज लक्ष्मी शाहको जोडी अनुबन्धित भएको थियो ।
छायांकनको तयारीमा रहेको यो चलचित्रबाट नायक पल शाह बाहिरिएका छन् । पल बाहिरिएसँगै चलचित्रमा अर्का नायक पुष्प खड्का अनुबन्धित भइसकेका छन् ।
बुझिए अनुसार चलचित्र टिम र खड्काबिच कागजी सम्झौता भइसकेको छ। पुष्प र साम्राज्ञीको यो दोस्रो सहकार्य हो । यसअघि यि दुई ‘मारुनी’मा एकसाथ देखिएका थिए ।
अमेरिकामै रहेका रमेश एमके पौडेलले निर्माण गर्न लागेको चलचित्रको सम्पूर्ण छायांकन पनि अमेरिकामै गरिने बताइएको छ। यो चलचित्रमार्फत निर्माता रमेश निर्देशकका रूपमा आउने भएका छन्। चलचित्रमा कथा र गीत लेखन निर्देशक पौडेलकै रहनेछ भने पल र साम्राज्ञीको साथमा सन्दीप क्षेत्री र अमेरिकामै बसोबास गर्ने इमिली लामाले पनि चलचित्रमा अभिनय गर्ने भएका छन।











