हरेक वर्ष कार्तिक शुक्लपक्ष द्वादशी तिथिमा कार्तिक नाचअन्तर्गतको बराह नृत्य मनाइँदै आइएको छ।यस बर्ष कार्तिक नाचअन्तर्गतको बराह नृत्य भने स्वास्थ्य मापदण्ड पालना गरेर मञ्चन गरिएको छ ।
विष्णुपुराणमा आधारित कथानुसार हिरण्याक्ष दैत्यलाई आज मात्रै भगाइने काम गरिन्छ । अन्य वर्षझैँ यस वर्ष पनि कार्तिक नृत्यलाई निरन्तरता दिन ललितपुर महानगरपालिकाका साथै वडा नं १६ ले आआफ्ना तर्फबाट सहयोग गरेका थिए । देशमा कार्तिक नाचको थालनी भएसँगै इतिहासमा कुनै वर्ष पनि रोकिएको नसुनिएको जानकार बताउँछन् ।
विसं १६९७ पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । यस नाच विश्वकै सबैभन्दा लामो भएको जिकिर गरिएको छ । कार्तिक नाट्य महोत्सवले जनतालाई एउटै सूत्रमा बाँधेर धार्मिक, नैतिक र सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ ।
कार्तिक नाच प्रथम पटक पाँच तथा सिद्धिनरसिंहका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोकनाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको पाटनवासी बताउँछन् ।
यसैगरी श्रीनिवासका छोरा राजा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीला थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेको जनाइएको छ । देशको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको समितिले जनाएको छ ।
सिद्धिनरसिंहका नाति योगनरेन्द्रका पालामा कात्तिकभरि सञ्चालन गरिएको सो नाचमा १७ विधाका कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो । कोरोना महामारी आउनुअघि देशकै लामो नाच हेर्न स्वदेशीका साथसाथै विदेशी देशका थुप्रै मानिस पाटन आउँथे । यस वर्ष कोभिड भयले कार्तिक डबली वरपर बस्ने मानिसहरुले समेत घरघरबाट टिभीमार्फत नृत्यको आनन्द लिएको समितिका सचिव विजय तण्डुकारले बताउनुभयो ।
यो नाच हिन्दूका साथै बौद्धधर्मावलम्बीका लागि पनि अति नै महत्वपूर्ण रहेको छ ।कोरोना महामारीका कारण नृत्यमा सहभागी मानिसको स्वास्थ्यमा ख्याल गरेर मास्कसँगै भाइजर अर्थात् ‘फेस शिल्ड’, पञ्जा, स्यानिटाइजरका साथै सामाजिक दूरी कायम लगाएर सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर मात्र प्रदर्शन गरिएको हो ।
तस्बिर : कुमार राजा महर्जन










