११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रले सरकारसँग गच्छे अनुसारको मात्रै अपेक्षा गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभालाई बिहीवार सम्बोधन गर्दै उनले सरकार मनको मात्रै धनी भएको बताउँदै गच्छेअनुसारको अपेक्षा गर्न आग्रह गरे ।
मुलुकको विकासको उन्नती तथा औद्योगिकरणको नेतृत्व गर्दै आएका अनुभवी क्षेत्रको साधारणसभा सार्थक उपलब्धीका साथ सफल हुने उनले बताए । उनले आफ्नो सचिवालयमा उद्योगी व्यवसायीहरूलाई स्वागत गर्न पाउँदा खुसी लागेको समेत सुनाए । महामारीका कारण अर्थतन्त्रमा परेको दुस्प्रभावलाई कसरी छुटाउने र कसरी माथि उठ्ने, पहिलेकै अवस्थामा कसरी फर्काउने र अगाडि बढाउने भन्ने प्रश्न अगाडि आएको उनले बताए ।
उनले यो साधारण सभाले कोभिड १९ र अबको अर्थतन्त्रबारे सरकारलाई समेत उपयोगी हुने निस्कर्ष निकाल्ने विश्वास लिए । उनले भने,‘हामी साझा समस्या भोगिरहेका छौं र समस्या निराकरण पनि संयुक्त प्रयासबाट नै सम्भव हुन्छ ।’ उनले सरकार र निजी क्षेत्र मिलेर नै समस्यासँग जुध्न सक्ने र पार पाउन सक्ने बताए ।
भ्याक्सिनको आविस्कार मानव जातीका निम्ति ठूलो उपलब्धी भएको र साझा उपलब्धी हुनुपर्नेमा उनले जोड दिए । यसले अर्थतन्त्रमा पारेको असरलाई पराजित गर्दै अर्थतन्त्रलाई फेरि माथि उठाउनुपर्ने भन्दै आर्थिक वृद्धिदर ८.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको भन्दै उनले अहिले शून्यको अवस्थामा आएको बताए ।
उनले भने,‘उद्योगीहरुलाई लाग्छ होला, कतिपय देशका सरकारले आर्थिक उत्थानका लागि राहत दिइरहेका छन्, नेपाल सरकारले किन दिँदैन रु उनले थपे, नेपाल सरकार मनको धनी नभएको हैन, गच्छेअनुसार दिने गरेको छ । रिजर्भ तथा बचत नभएका कारण सिमित मात्र सहयोग गर्न सकिने छ ।’ उनले अभिभावकको गच्छेअनुसार नै निजी क्षेत्रले अपेक्षा गर्नुपर्ने बताए ।












