११ मंसिर, काठमाडौं । तिहार सकिएलगतै अहिले देशैभर चिसाे बढेकाे छ । जल तथा माैसम पूर्वानुमान महाशाखाले यो वर्षको हिउँदयाम सरदरभन्दा सुक्खा हुने र जाडो पनि कम हुने आँकलन गरेकाे छ ।
जाडो अवधि’डिसेम्बर, जनवरी र फेब्रुअरी महिना’मा सरदरभन्दा कम पानी पर्ने र जाडो पनि कम हुने आँकलन महाशाखाकाे छ । ३० वर्षको जाडोयामको तुलनाको आधारमा नेपालमा यो वर्षको जाडोयाममा सरदरभन्दा कम पानी पर्ने र जाडो पनि कम हुने अनुमान छ ।
आम मानिसहरुलाई गत वर्षभन्दा यो वर्ष मौसमी अवस्था कस्तो होला भन्ने चासो हुन्छ । आजको मौसम कस्तो होला भनेर चासो राख्नेहरुका लागि जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तीन-तीन दिनको मौसमी अवस्थाबारे हरेक दिन बिहान जानकारी दिने गरेको छ ।
खासगरी मौसम दुई तरिकाले चिसो हुन्छ । एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर । डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ । बादल नलागेर घाम लाग्यो भने वा हुस्सुरशीतलहरका कारण न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ ।
न्यूनतम तापक्रम भनेको गत २४ घण्टा अवधिको सबैभन्दा कम र अधिकतम तापक्रम भनेको गत २४ घण्टा अवधिको सबैभन्दा बढी तापक्रम हो । न्युनतम तापक्रम प्रायजसो बिहान ‘५-७ बजेतिर’ र अधिकतम तापक्रम अपराह्न ‘३-५ बजेतिर’ रेकर्ड गर्ने नेपालको प्रचलन छ । नेपालको सन्दर्भमा सामान्यरुपमा बुझ्नुपर्दा न्यूनतम बिहानको तापक्रम र अधिकतम दिउँसोको तापक्रम हो ।
दक्षिण एसियाका देशहरुको मौसमी अवस्थाबारे छलफल तथा विश्लेषण गर्ने ‘साउथ एसियन आउटलुक फोरम ‘सास्कोफ’’को भर्चुअल बैठक यही मंसिर ८ गते ‘गत सोमबार’ बसेको थियो । सो बैठकमा यो वर्षको जाडोयाम कस्तो होला भन्ने विषयमा मौसमविदहरुले आ-आफ्नो विश्लेषण सुनाएका थिए ।
सो बैठकको अन्तिम निचोड भने सार्वजनिक भइसकेको छैन । यद्यपि अघिल्लो पटकको यही अवधिको तुलनामा यस वर्ष छिट्टै जाडो बढेको महसुस गरिएको छ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन गरिएको छ ।












