पुराण वाचनमा पोख्त दिदीबहिनी

समिता श्रेष्ठ

पुराण वाचनमा पोख्त तथा संस्कृत साहित्यका धुरन्धर गार्गी र सरस्वती नाताले दिदीबहिनी हुनुहुन्छ । उहाँहरु दुबै जनाले श्रीमद्भागवत, शिवपुराण, देविभागवत, विष्णुपुराण, वाल्मिकी रामायण वाचन गर्नुहुन्छ । वाचन मात्रै होइन व्यक्तिगत रुपमा घरघरमा गरिने सप्ताहमा गार्गी र सरस्वतीले भागवत तथा पुराण लगाउनुहुन्छ । उहाँहरुले अहिलेसम्म ४१ जिल्लामा पुराण वाचन गरिसक्नु भएको छ ।

गार्गी र सरस्वतीले वाल्मिकी विद्या पिठ अर्थात् नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्य र इतिहास पुराणमा आचार्य गरिसक्नुभएको छ । उहाँहरुको अध्यात्मिक साधना निरन्तर छ । अब छिट्रटै पीएचडी गर्ने तयारीमा पनि हुनुहुन्छ ।

गार्गी ‘शाम्भवी’ र सरस्वती ‘शाकम्भरी’ को नामको पृष्ठभुमि

उहाँहरुको परिवार नै अध्यात्मिक पृष्ठभूमीको हुनाले नाम पनि जोडिएको छ । ‘हाम्रो हजुरबुबाको पालादेखि नै वेद अध्ययन गरिन्थ्यो’ गार्गी भन्नुहुन्छ,‘हस्तलिखित वेदहरु घरमै छन् । पिता जी पनि प्रवचन गर्नुहुन्थ्यो । संस्कृतपट्टी पिता जी को पनि लगाव र सम्पुर्ण परिवारको कारण हामी यो क्षेत्रमा छौ ।’ नामाकरण पिता जीले राख्नुभएको हो । बुबा अध्यात्मिक भएकाले अध्यात्मसंग जोडिएको नाम राख्नुभयो ।

अध्यात्म के हो ?

अध्यात्मबारे गार्गी भन्नुहुन्छ,‘पहिलो कुरा आफ्नो आत्मालाई चिन्नु र यो संसार के हो ? सत्य, असत्य के हो ? यसको बाटोलाई चिनेर आत्ममा स्थिर रहनु नै अध्यात्म हो । जुन व्यक्ति आध्यात्मिक हुन्छ । उसलाई बाहिरका कुनै दःुखले छुन सक्दैन । अध्यात्म भनेको पनि त्यही हो । आत्मको चेतन तत्व हो । एकान्तमा बस्नु नै अध्यात्मको एउटा बाटो हो । एकान्त नभै आत्मचिन्तन गर्न सहज हुँदैन । आफ्नो कल्याणको लागि एकान्त नै आवश्यक छ । मानव कल्याणको लागि मानवले चाल्नुपर्ने सहि समय यहि हो । अहिलेको समय अवस्थामा अध्यात्मको आवश्यकता निकै खड्कीएको छ ।’

त्यस्तै सरस्वती भन्नुहुन्छ,‘संसारमा जति पनि मानव जन्मिए । मानव जातिको लागि सबैभन्दा अपरिहार्य तत्व अध्यात्म हो । अध्यात्मबाट नै भौतिकवादी ज्ञान थाहा हुन्छ । अध्यात्म थाहा न भए त्यो भौतिक ज्ञान प्राप्त हुँनै सक्दैन । जसले अध्यात्मलाई बुझेको छ, जानेको हुन्छ उसलाई व्यवहार सहज हुन्छ । जो व्यक्तिलाई अध्यात्म थाहा छैन उसले घर व्यवहार समेत चलाउन गाह्रो हुन्छ । त्यसैले अध्यात्म मानवजीवन र मानवजातीको लागि अपरिहार्य छ ।’

कोरोनापछिको लकडाउनका दिनहरु सदुपयोग

कोरोनापछि सरकारले लकडाउनु गर्यो । सबै जना सरकारको आदेशलाई मानेर घरमै बस्यौ । तर गार्गी र सरस्वतीले घरमै बसिबसि सामाजिक संजालबाट आध्यात्मिक ज्ञान पस्कनुभयो । यसले धेरैको ज्ञानको खोजीको भोको पेट भरियो । चेतना विस्तारमा सहयोग पुग्यो । ‘लकडाउनले साधनाको समय मिल्यो’ गार्गीले भन्नुभयो,‘अध्ययन गर्ने बेलामा समय कम हुन्थ्यो अहिले गहिरो अध्ययन गर्ने समय मिलेको छ ।’

संस्कृत नै रोज्नुको कारण

संस्कृत सम्पुर्ण भाषाको जननी भाषा हो । त्यसैले संस्कृतको ज्ञान नभई अरु भाषाको ज्ञान हुँदैन । अरु भाषाको ज्ञाता भए नि बिना संस्कृत अपुर्ण नै हुन्छ । संस्कृत भाषा जाने अरु भाषा नजाने पनि फरक पर्दैनन् । तर अरु जानेर संस्कृत नजाने अपुर्ण मानिन्छ । संस्कृत भनेको पूर्णभाषा हो । संस्कृतमा कुनै कमी छैन । हाम्रा वेद, उपनिषद् पूर्ण संस्कृतमा छन् ।

त्यो संस्कृत जानको लागि हाम्रो आफ्नो धर्म, संस्कृति बुझ्नको लागि सबैभन्दा पहिले हामी हिन्दुहरुले संस्कृत जान्नुपर्छ । हामीले संस्कृत जान्यौ भने मात्रै वेदको अर्थ जान्दछौ । वेदको अर्थ जानेपछि आफ्नो आत्मकल्याण अनि समाजको कल्याण हुने भयो । संस्कृतमा संस्कार छ, नीति नियम छ । त्यसैले मानव व्यवहार चलाउन कामयावी हुन्छ । आत्मलाई चिन्न पनि सहज हुन्छ ।

यो क्षेत्रमा लाग्नुका कारणबारे : गार्गी र सरस्वतीको विचार

संस्कार नभई केहि थाहा हुँदैन । हामी अज्ञानी हुन्छौ । संस्कारले नै नियम थाहा हुन्छ अनि अनुशासित बनाउने गर्छ । यो संसार उछृङंखल भएर जानुको मुख्य कारण नै संस्कृतको अध्ययन कम भएर हो । संस्कृत अध्ययनको कमि हुने बित्तिकै यो जगत् के हो ? सृष्टि किन भयो ? भन्ने कुरा थाहा हुँदैन । ज्ञान नभएर मोक्ष हुँदैन ।

ज्ञान भन्दा पवित्र कुरा केही छैन । ज्ञान भनेको जान्नु हो । बोध भनेको आत्मालाई साक्षात्कार गर्नुपर्छ । आत्मालाई चिन्नुपर्छ । तर संस्कृत कसरी सिक्ने या जान्ने त ? यसका लागि विश्वविद्यालय गएर मात्रै हुँदैन । संस्कृत भाषामा पहिले श्रद्धा र आस्था हुनुपर्यो । गुरुसंग बसेर सिक्ने अध्यात्मप्रती श्रद्धा हुनुपर्छ । अध्यात्ममा रुचि भएको व्यक्तीलाई ज्ञान प्राप्त गर्न र संस्कृत सिक्न सजिलो हुन्छ । संस्कृत अथाह छ ।

[sidebar name="button post"]