पहिलो कुरा त रोग लाग्नु भन्दा पहिले नै सचेत रहौँ रोग लागेर उपचार गर्नु भन्दा पहिले नै सचेत बनौँ

रमिता दंगाल

शिवप्रसाद देवकोटा शिक्षा पेशामा आबद्द हुनुहुन्छ । उहाँले कोरोनासँगको लडाईं जितिसक्नुभएको छ । हिजो कोरोना भाइरस सुरु हुँदै गर्दा अमेरिका, इटाली, स्पेन लगायतका देशहरुको कहाली लाग्दो कथा सुनेका उहाँ आफैले कोरोनालाई पराजित गर्नुभयो । देवकोटाको कोरोना अनुभव जुन सुनाईं र भोगाईंमा फरक छ ।

सुनेजस्तो अनुभव गर्नुपरेन

चीनमा कोरोना भाइरस गएको नोभेम्बरमा देखा पर्यो । त्यसपछि संक्रमण बढ्दै बढ्दै गयो । घटना सुन्दा हामीलाई ओहो यो कोरोना भनेको त एकदमै खतरा रहेछ भन्ने महसुस भयो । देवकोटा भन्नुहुन्छ,‘जब आफैंले भोगियो खासै त्यस्तो किसिमको कहालीलाग्दो र डरलाग्दो महसुस गरिन । मैले त्यस्तो किन महसुस गरिन भने मान्छेले एउटा कुनै चिज नपाउँदा कस्तो होला भनेर कौतुहलता पक्कै हुन्छ, त्यस्तै म आफैँ कोरोना संक्रमित भए यी सबै फजुल कुरा रहेछ भनेर महसुस गरे ।’

संक्रमित भएपछि

सुरुमा लक्षणहरु जस्तै हल्का रुघाखोकी साथै सय डिग्रीको ज्वरो आयो । त्यसपछि कोरोना पो लाग्यो कि भनेर शंका लाग्यो । अनि स्टार हस्पिटलमा चेक गरेँ । जब मलाई पोजिटिभ भयो भनेर मेसेज आयो पहिला नै जेट्ठो छोरा र बुहारी संक्रमित भैसकेकाले कोरोनाका धेरै अवस्थाबारे जानकार भैसकेका थियौँ ।

त्यसकारण पोजिटिभ भनेर मेसेज आउँदा डर लागेन । यदी मलाई संक्रमण भैहाल्यो भने पनि म कोरोनासंग लड्न सक्छु भन्ने पहिल्यै लागिसकेको थियो । जब काँडाघारीको सनसिटिमा ८२ बर्षकी एकजना आमाले कोरोना जित्नु भएको थियो । मलाई त्यो कुराले मनमा हिर्काइरहेको थियो ।

सकभर मलाई कोरोना लाग्दै लाग्दैन । यदि लागिहाल्यो भने पनि डराउँदिन र हाँसी हाँसी यो संगको युद्द परास्त गर्छु भन्ने मनसाय बनाएको थिएँ । ८२ बर्षको आमाले त जित्नु भयो भने म त भर्खर ५४ बर्षकोले कोरोना त्यसै जितिहाल्छु नि भनेर मनोबल बढेको थियो ।

साबधानी र सतर्कता

जब रिपोर्ट पोजिटिभ आयो त्यसपछि म होम आइसोलेशनमा बसेँ। संक्रमणको समयमा श्रीमतीले धेरै सहयोग गर्नुभयो । आठ जनाको परिवारमा अमेरिका रहेका २ जना बाहेक यहाँ भएका ६ जना नै संक्रमित भयौँ । तर होम आइसोलेशनमै बसेर कोरोनासंग लड्यौं । दुईजना बाबुहरु त डाक्टर नै छन् ।

बाबुहरुले भिट्टामिनहरु ल्याइदिए उनीहरुले भने जसरी मैंले पनि खाएँ, मेरो श्रीमतीले पनि खाईन र बाबुहरुले पनि खाए । सुरुमा त स्वाद हुँदैन रहेछ माटो खाए जस्तो लाग्यो । मिठो भए पनि नभएपनि मैले मज्जाले खाएँ । काजु, पेस्ता, बदाम, ओखर दैनिक सेवन गरेँ । बाफ लिएँ । यति बेला अक्सिजनको लेबलपनि कम हुँदो रहेछ । अक्सिजनको लेबल पनि कम हुन्छ कि भनेर मलाई बाबुहरुले अक्सिजन चेक गर्ने ल्याइदिए । बेला बेलामा अक्सिजन लेबल पनि चेक गर्ने गर्थें ।

त्यो मेसिनमा पल्स रेट चेक गर्ने पनि हुँदो रहेछ । ज्वरो चेक गर्थें त्यसपछि बाबुहरुले परामर्श दिन्थें । सर्दी हुने भएकाले चिसो हुने कुरा मैंले खाइन स्याउ चाहिं मन तातो बनाएर खाएँ । मासु, दाल, सागहरु मज्जाले खाएँ । दिनमा अत्याधिक मात्रामा पानी पिएँ । त्यसपछि कोरोनाले मलाई त्यति पेल्न सकेन । मैंले खानाले नै पेलें ।

आफन्त, साथिभाईको सहयोग

कोरोना संक्रमण भैसकेपछि साथीभाईहरुले राम्रो सहयोग गर्नु भएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘बिशेष गरेर जया मल्टिपल क्याम्पसका प्रिन्सिपल भवानीप्रसाद पौड्याल जसले मलाई धेरै पटक कुरा गर्नुभयो । बिशेष गरेर बाहिरबाट साथीभाईले भन्दा पनि भित्र घरबाट नै ठुलो सहयोग भयो ।

बिशेष गरेर मेरो जिबनसाथीले साथ दिईन । ठुलो बाबु र बुहारी नानीलाई पनि अनुभव भैसकेको भएकाले उनिहरुले पनि त्यतिकै साथ दिए । मेरो मित्र अमृत खड्का हुनुहुन्छ । उहाँले पनि बारम्बार फोन गरेर कत्ति पनि नआत्तिनुस है केहि पनि हुँदैन भन्नु हुन्थ्यो । मैंले पनि जितिसकेको हो भनेर हौसला दिनुहुन्थ्यो ।

आइसोलेशनभन्दा पनि होम आइसोलेशन नै बेस्ट

कोरोना संक्रमण भएर जति पनि मानिसहरु हस्पिटलमा बस्नु भएको छ । उहाँहरुमा चाहिं एक्लोपन हुने, उनीहरुलाई परामर्श दिन नपाउने, एकोहोरो मात्र हुने, टोलाएर बस्ने भएपछि मानिसहरु निराश हुने र डिप्रेसन तिर जाने उहाँले बताउनुभयो । तर उहाँको कुरा गर्दा परिवारबाट ठुलो साथ र सहयोग थियो । उहाँले भन्नुहुन्छ,‘छोरा बुहारीले पनि नआतिनुस् है औषधि के कसो छ सकियो भने भन्नु है भनेर सोधिरहन्थे । हस्पिटलमा बसेको भए मलाई यति सहज हुँदैन थियो होला । बच्चाहरुले एकदमै साथीको जस्तो व्यवहार गरे ।

संक्रमित भएकाका लागि सल्लाह, सुझाब

एउटा हिन्दीमा भनाइ नै छ ‘जो डरगया सम्झो मरगया’ । कोरोना संक्रमण भयो भन्दैमा डराउनु पर्दैन । आत्मबल उच्च भयो भने जुनसुकै रोगसँग पनि सजिलै लड्न सकिन्छ । उहाँ भन्नुहुन्छ,‘कत्ति पनि नडराउनुस् केहि हुँदैन ।

कोरोना भनेको एक किसिमको निमोनिया रहेछ । भिट्टामिनहरु लिनुहोस्, भौतिक दुरी कायम गर्नुस्, अक्सिजन लेबल कति छ चेक गर्नुहोस्, आफन्तहरुले पनि ओहो मेरो आफन्त बिरामीहरु भेट्न जाँदा सर्छ कि भनेर कत्ति पनि नडराउनुस् । तपाईंहरु सामाजिक दुरी कायम राख्नुस्, यसो गर्नुभयो भने कोरोना सर्दैन ।

पहिलो कुरा त रोग लाग्नु भन्दा पहिले नै सचेत रहौँ । रोग लागेर उपचार गर्नु भन्दा पहिले नै सचेत बनौँ । लागिसकेपछि मनोबल उच्च राखौँ । मास्क लगाउनुस्, जाडोको मौसम छ । शरिरलाई न्यानो राख्नुस् कोरोनालाई जुन अहिले मिडियाले हाउगुजी देखाएको छ, त्यो पनि हैन र तपाईं हामी आम नागरिकले केहि पनि हैन रहेछ रुघाखोकी मात्र रहेछ त्यो पनि नसोच्नुस् । साबुन पानीले हात धोइरहनुस् ।

[sidebar name="button post"]