१० मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा कोरोना संक्रमितले पनि भोट हाल्न पाउने भएका छन् । आगामी मंसिर १३ गते हुने चुनावका लागि तीन स्थान तय गरिएको छ । जसमा एक ठाउँबाट संक्रमितलाई भोट हाल्न पाउने व्यवस्था गरिएको छ ।
महासंघको निर्वाचन समितिले टेकु, कार्की व्याङकेट बबरमहल र प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रमहरू हुने जनाएको छ । कोभिड १९ र सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई ध्यान दिएर गर्दै भिन्दा भिन्दै ठाउँमा निर्वाचनका कार्यक्रम तय गरिएको महासंघले जनाएको छ ।
शनिबार विहान ८ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिले जनाएको छ । सो निर्वाचन भने समूहगत रुपमा छुट्टाछुट्टै स्थान तोकिएको छ ।नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की व्याङकेट माइतीघरमा एशोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय, टेकुमा वस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइने भएको हो ।
कोभिड—१९ पोजेटिभ देखिएका मतदाताहरुले आफैले मतदान गर्नुपर्ने अवस्थामा तीनै समूहका मतदाताहरु त्यस्ता मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था गरिने महासंघले जनाएको छ । मतदाता भएकामध्ये संक्रमित भएकाले छिट्टै जानकारी गराउन पनि महासंघले आग्रह गरेको छ ।
यसपटकको चुनावमा वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र ढकाल लड्दैछन् । अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा भने स्वतः अध्यक्ष हुनेछन् ।









