९ मंसिर, काठमाडौं । परीक्षाको मुखमा विद्यार्थीबाट शुल्क असुलेको भन्दै नेपाली विद्यार्थी संघले आपत्ति जनाएको छ । नेविसंघले विज्ञप्ती निकालेर कोरोना कहरमा परीक्षा शुरु हुन लागेका बेला निजी विद्यालयले शुल्कमा लुट मच्चाएको भन्दै आपत्ति जनाएको हो ।
केहि विद्यालयहरुले शुल्कको नाममा अनावश्यक दबाब शृजना गर्दै परिक्षाको प्रवेश पत्र रोकेको, काठमाडौंको मोर्गन कलेजमा अत्यधिक शुल्क बढाउँदा स्वतस्फूर्त शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका निर्दोष विद्यार्थीलाई गिरफ्तार गरिएको घटना अत्यन्तै निन्दनीय भएको पनि नेविसंघको ठहर छ ।
‘नियमित, प्रत्यक्ष पाठनपाठन नभएको र विद्यार्थीले कुनैपनि सुविधा नलिएको अवस्थामा अनावश्यक र अतिरिक्त कुनैपनि शिर्षकमा शुल्क नलिनु पर्नेमा उल्टो अतिरिक्त शुल्क लिन थालिएका घटनाले हामीलाई आक्रोशित बनाएको छ’ विज्ञप्तीमा भनिएको छ ।
‘राज्यको संरक्षणमा विद्यार्थीमाथी गरिएका सबै खाले शोषण, दमन र यातना तत्काल बन्द गर्दै विद्यार्थीमाथि लगाइएका झुटा मुद्दा खारेज गर्न र अवाञ्छित रुपमा वढाइएको सम्पुर्ण शुल्क तत्काल खारेज गर्न जोडदार माग गर्दछु’ नेविसंघका महामन्त्री बलदेव तिम्सिनाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।












