सरोज कार्की
काठमाण्डौको चाबहिलमा सडक निर्माणको काम अधुरो हुँदा धुलो उडेर दिउँसै अध्याँरो हुने गरेको छ । धुलोले कुहिरो मण्डल हुँदा सर्वसाधारण मारमा पर्दै आएका छन् । पैदल यात्रु, गाडी चालक, गाडीमा यात्रा गर्नेहरु तथा व्यवसायी पनि उत्तिकै मर्कामा परेका छन् । बिगत ५ बर्षदेखि यो सडक बेहाल छ ।

सबैका गुनासै गुनासा : सुन्दैन जिम्मेवार निकाय
चाबहिल सडकको बेहाल भोग्ने र देख्ने सबैलाई थाहा छ । आम नागरिक र व्यापारीले भोग्नुपरेको सास्ती बयान गरिसाध्य छैन । सबैका गुनासै गुनासा छन् । पैदल यात्रु रामचन्द्र श्रेष्ठ भन्नुहुन्छ,‘बाटोको खाल्डाखुल्डीले समयमै अफिस पुग्न सकिदैन । धुलोले सासै फेर्न समस्या हुन्छ । धुलोले स्वास्थ्यमा समेत असर पारेको छ । लत्ताकपडा धुलोमैलो हुन्छ ।’
गोकर्णका रामलाल मोक्तान भन्नुहुन्छ,‘जहिले कामको शिलशिलामा ओहोर दोहोर गर्नुपर्छ । बस कुरुन्जेल धुलोले धेरै असर परेको छ । सडक धुलाम्मे हुँदा निकै हैरानी भएको छ ।’
रञ्जित डंगोल भन्नुहुन्छ,‘बेला बेलामा ग्राबेल र धुलोको कारण घाँटीदेखि फोक्सोसम्म असर गरेको छ । धुलो उडेका कारण सकेसम्म बेला बेलामा पानी हालेर धुलो नउड्ने वातावरण बनाउने गरेका छौ । सडकमा पानी हालेको बेलामा धुलो नउडेका बेला अचम्मै लाग्ने गरेको स्थानीयबासिन्दा बताउछन् ।

व्यापार चौपट
सडकको दुर्दशा देखेर वाक्क दिक्क भैसकेको व्यवसायीहरु पनि बताउछन् । चाबहिलमा पसल गर्ने भुपेन्द्र खड्का भन्नुहुन्छ,‘ व्यापार चौपट भैसक्यो । चार बर्षदेखि बाटो त्यस्तै छ, कहिले पिच गर्ने फेरी भत्काउने कार्य भैरहेको छ । बाटो धुलोले कुहिरी मण्डल हुँदा मलाई मात्रै होइन, यहाँका सबै पसलेहरुलाई सहज छैन ।’ बाटो निर्माणको काम ढिलो हुनुमा जनप्रतिनिधिले बढी चासो राख्नुपर्ने तर नराखेको उहाँको गुनासो छ ।
‘जनप्रतिनिधि नै मुख्य दोषी छन्’ उहाँ भन्नुहुन्छ,‘आफ्नै देशमा केहि गर्नुपर्छ भनेर पसल खोलें तर धुलोको कारण व्यापार छैन, उल्टै टन्सील जस्ता रोगको सिकार हुन परिरहेको छ ।’ओमकार डेन्टल हस्पिटल चाबहिलका आरके विनायक घिसिङ्ग भन्नुहुन्छ,‘बाटो बिस्तार गर्ने र भूमिगत तारहरु बिछ्याउन पहिल्यै खनेको हो । बाटो पिच नहुँदा स्वास्थ्यमा निकै असर गरेको छ । व्यापार व्यवसायमा पनि असर परेको छ ।
लकडाउन अगाडी थोरै काम भएको जस्तो देखिन्थ्यो, त्यसपछि निर्माण कार्य रोकियो । मंसिरमा सडक निर्माण सकिनुपर्ने थियो । सरकारले बेला बेलामा सडक मर्मत गरेपनि माटो मात्र थप्ने काम भयो, लामो समयसम्म टिक्न सकेन, सरकारले बेवास्ता गरेका कारण पनि सडक निर्माणमा ढिलाइ भैरहेको स्थानीय बासिन्दा जमुना प्रजापतिको गुनासो छ ।

चिल्लै गाडीमा हुईंकिने तर बेहाल नदेख्ने
यहि बाटोबाट दिनहुँ जिम्मेवार निकायमा रहेका ‘हाकीम’ भनिनेहरु पनि हुईंकिन्छन् । चिल्लै गाडीमा हुईंकिएपनि उनीहरुका महंगा गाडी समेत धुलाम्मे हुन्छन् । तर उनीहरुको भन्दा आम सर्वसाधारणको सास्ती चर्को छ । सास्ती सुन्ने जनप्रतिनिधि, काम गर्नुपर्ने ठेकेदार र सडक विभाग भने कानमा तेल हालेर बसेको सर्वसाधारणको गुनासो छ ।
‘बाटो निर्माणको काममा जिम्मा पाएको ठेकेदारको कारण ढिलो भएको हो भने ठेक्का तोडेर अर्को ठेकेदारलाई दिनुपर्ने बताउनुहुन्छ व्यापारी खड्का । ‘धुलोको कारण समानहरु पुरानो जस्तो देखिएर बिक्री गर्न गाह्रो भएको छ’ उहाँ भन्नुहुन्छ,‘यसरी धुलो खानु भन्दा बाटो निर्माणको कामको लागि हरेक पसलबाट एक÷दुई हजार हाल्न समेत तयार छौ ।’












