Ad #144479

८ मंसिर, नारायणपुर । “बिरामी भएर बा मरें, आमाले अर्को  बिहे  गरेर गइन्, मलाई गाउँलेले  हुर्काए, कोई नभएकालाई कसले पढाउने, कसले खान, बस्न दिने ? ” घोराही उपमहानगरपालिका–१३ दुर्गा भवानी टोल अर्थात् बादी बस्तीमा बसोबास गर्दै आउनुभएका बेसाहारा करण बादीले  आफ्ना पीडा यसरी बिसाउनुभयो  । बेसाहारा भएकै कारण बस्तीमा मागेर गुजारा चलाउँदै आइरहेका कारण धेरै पढेर ठूलो मान्छे बन्ने इच्छा भने मरेको छैन ।

कहिले नजिकैमा रहेको इँटाभट्टामा कामका लागि जाने गर्नुभएका कारण कहिले भने बजारमा माग्न जाने गरेको बताउनुहुन्छ । सानै उमेरमा बाबुआमा गुमाएका करण अहिले १२ वर्षका हुनुभयो तर अहिलेसम्म विद्यालय जानुभएको छैन । कक्षा ४ मा पढ्दा १४ वर्षीय अर्जुन बादीको बुबा बिरामी हुनुभएपछि उहाँको पढाइमा पूर्णबिराम लाग्यो । घरको जेठो छोरो बा बिरामी भएपछि कापी, कलम किन्ने  पैसा पनि उहाँसँग भएन ।

काम गर्न नगए चुलो नबल्ने भएपछि पढ्ने इच्छालाई मारेर इँटाभट्टामा काम गर्न गएको उहाँले सुनाउनुभयो । “हाम्रो बस्तीमा धेरै पढेको  पनि मै हुुँ, पढ्ने रहर हुँदाहुँदै पनि घरव्यवहार चलाउने समस्याले पढाइ छोड्नुप¥र्यो”, अर्जुनले भन्नुभयो । धेरै पढेर जागिर खाने  रहर र सपना भए पनि घरको  आर्थिक अवस्थाका कारण विद्यालय छोडेर भट्टामा पुग्नुपरेको  उहाँले  बताउनुभयो  । “अझै पनि पढ्न पाएँ भने केही गर्नसक्छु भन्ने लाग्छ”, अर्जुनले भन्नुभयो ।

करण र अर्जुन मात्रै होइन बादी बस्तीका अधिकांश बालबालिका विद्यालय जानबाट बञ्चित छन । उनीहरु सबैको  समस्या गरिबी नै हो  । यो बस्तीमा रहेका धेरैजसो बालबालिका विभिन्न कारणले विद्यालय जानबाट बञ्चित भएका छन् । कोही बाबुआमा नभएर पढ्न पाएका छैनन् भने  बाबुआमा भएका कतिपय बालबालिका पनि विद्यालय जान सकेका छैनन् ।

उक्त बस्तीमा २५ घरपरिवार बादी र १५ घरपरिवार दलित जातिको  बसोबास छ । उनीहरुको दैनिक गुजारा छेउमा रहेको इँटाभट्टा र बजारमा पाइने ज्यामी कामले  टरेको  छ । घरको  नाजुक अवस्थाका कारण बादी र विक परिवारका बालबालिका विद्यालय छोडेर मजदूरीका लागि दौडिरहेका छन् । विद्यालय जाने  उमेरका २५ बालबालिका बजारमा श्रम बेचेर घर चलाउन बाध्य छन् । आधारभूत शिक्षा मौलिक अधिकार भए पनि बादी बस्तीका बालबालिकाले  अधिकार उपयोग गर्न पाएका छैनन् ।

गरिबीको रेखामुनि रहेका उनीहरुलाई गासबासकै समस्या छ । छोराछोरी पढाउने रहर हुँदाहुँदै पनि गरिबीका कारण विद्यालय पठाउन नसकिएको डल्ली बादी बताउनुहुन्छ । “जग्गा जमिन छैन, एकदिन काम नगरे  चुलो  बल्दैन, छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउने रहर भएर मात्रै के गर्नु”, डल्लीले भन्नुभयो । गरिबी र अभावमा बाँचिरहेको  बस्तीका सबै बासिन्दाको पीडा एउटै भएकाले बालबालिका विद्यालय नगएको उहाँले बताउनुभयो ।

विद्यालयमा भर्ना हुने दलित बालबालिकालाई सरकारले छात्रवृत्ति दिइरहेको घोराही उपमहानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ । साँझ बिहानको छाक बसेका र बासको व्यवस्था नभएका कारण बालबालिका विद्यालय नजाने गरेको शिक्षा महाशाखाका प्रमुख विनोद गौतमले बताउनुभयो । “विद्यालय भर्ना हुने हो भने कापी कलमका लागि उनीहरुले छात्रवृत्ति पाउछन् समस्या छैन”, गौतमले भन्नुभयो ।