समिता श्रेष्ठ
फूलैफूलको पर्व तिहार सकिएको एक हप्ता भयो । छठ पर्व पनि शनिबार सकियो । यसपाली तिहारमा सयपत्री र मखमली गरी १६ लाख माला खपत भएको तथ्याङ्क छ । केहिवर्ष अघिसम्म तिहारमा फूलको आयात गर्नुपथ्र्यो तर यसवर्ष तिहारमा आवश्यक सयपत्री फूलको माला आन्तरिक उत्पादनबाटै परिपूर्ति भएको छ । मखमली फूलमा भने नेपाल आत्मनिर्भर नै रहेको छ । यसवर्ष कोरोना महामारीले सयपत्री, मखमली सहित अरु फूलको व्यवसाय विस्तारमा असर पारेको छ । तर केहि उद्यमी फूलमै रमाएका छन् । आम्दानी पनि राम्रै रहेको व्यवसायीको भनाई छ ।
कुमार बिसी : सञ्चालक सामाखुसी नर्सरी
सामाखुसी रानीबारी दक्षिणकालीमै रहेको सामाखुसी नर्सरीका संचालक कुमार बिसी पुष्प ब्यवसायमा लाग्नुभएको २० बर्ष भैसकेको छ । यहि पेशाबाट नै जिविकोपार्जन गर्दै आउनु भएको छ । चैत÷बैशाख र दशैँ÷तिहार जस्ता चाडपर्वको सिजनमा राम्रै आम्दानी हुन्छ भने अफ सिजनमा पनि ५० हजार जति कमाइ हुन्छ ।
उहाँले यो ब्यवसाय गर्नुभन्दा अगाडि बगैंचामा सहयोगीकै रुपमा काम गर्नुभएको थियो । त्यही कामपछि उहाँको ब्यवसाय नै बन्यो । ‘काम गर्दै जाँदा यसैमा रुचि भयो’उहाँ भन्नुहुन्छ,‘ सुरुमा ४/५ लाख रुपैयाँ लगानी गरी आफ्नै नर्सरी संचालन गरे ।’ यसपाली दशैँ र तिहारमा ५/६ लाखको फूल बिक्री गरेको उहाँ बताउनुहुन्छ । उहाँको नर्सरीमा मौसमी फुलहरुको बिक्री धेरै हुने गर्दछ । प्रायः सबै प्रकारका फूलहरु र बिरुवा उहाँको नर्सरीमा पाउन सकिन्छ ।
यो ब्यवसायमा उहाँलाई उहाँको श्रीमतीले पनि सहयोग गर्नुहुन्छ । आफ्नो नर्सरी र पुष्प ब्यवसायबाट आफु सन्तुष्ट नै रहेको बिसी बताउनुहुन्छ । ‘अरु काम गर्न पनि आउदैन र अब गर्न पनि सकिदैन’उहाँ भन्नुहुन्छ,‘यो ब्यवसायमा सरकारले चासो दिएको छैन । यदी सरकारले पनि सपोट गरे राम्रै हुन्छ ।’
लालबहादुर तामाङ: सञ्चालक मिलन नर्सरी
कपनमा मिलन नर्सरी संचालन गर्ने लालबहादुर तामाङले नर्सरी सुरु गर्नुभएको १० बर्ष भयो । सुरुमा ३/४ लाख रुपैयाँ लगानी गरेका उहाँको नर्सरीमा अहिले ३५ लाख पुगेको छ । उहाँको नर्सरीमा मौसमी फूलहरु छन् । यो नर्सरी गर्नुभन्दा अगाडि सुरुमा अरुको नर्सरीमा कामदारको रुपमा काम गरी सिक्नुभयो ।
काम सिकेपछि उहाँले ३ रोपनी जग्गामा नर्सरी संचालन गर्नु भएको छ । यो बर्ष लकडाउनले गर्दा फुलहरु धेरै नलगाएका कारण दशैँ तिहारमा ४ लाख रुपैयाँ जतिको फूल बिक्री गरेको उहाँ बताउनुहुन्छ । यो नर्सरीबाट बार्षिक आम्दानी ६/७ लाख हुने उहाँ बताउनुहुन्छ । आफुले जानेको पेशा यहि भएको र आफ्नै देशमा बसेर नर्सरी ब्यवसाय गरी जिवन चलाउन सकेकोमा एकदमै सन्तुष्ट भएको तामाङको भनाई छ ।
‘यो पेशा ब्यवसायमा सरकारले चासो दिएर राम्रो ब्यवस्था गरे फूल उत्पादन गरी निर्यात गर्न सकिन्छ’उहाँ भन्नुहुन्छ,‘सरकारी जग्गाहरु भाडामा दिएर पुष्प ब्यवसायलाई पनि साथ दिए राम्रो हुने थियो ।’उहाँ भन्नुहुन्छ,‘लकडाउनको समयमा नर्सरी गरेको ठाउँ र बस्ने ठाउँ अन्तै परेका साथिहरु फूलमा पानी राख्न पनि जान पाएनन् । धेरै फूलहरु नष्ट भएर गए । हाम्रो नर्सरी ब्यवसायको कार्ड बनाएको कार्डको पनि मान्यता दिएन । सरकारले नर्सरी ब्यवसायलाई ध्यान दिएर कालिमाटी तरकारी बजार जस्तै ब्यवस्थापन गरे राम्रो हुन्थ्यो ।’
गोपालप्रसाद तिमल्सिना : सञ्चालक चामुण्डा नर्सरी
बाबुले अपनाएको पेशालाई नै गोपालप्रसाद तिमल्सिनाले अँगाल्नु भएको छ । बौद्ध, पिपलबोटमा रहेको चामुण्डा नर्सरी संचालन गरेको २० बर्ष भयो । नेपालको हावापानी सुहाउँदो फूलका बिरुवाहरु नर्सरीमा छन् । सुरुमा ३/४ लाख रुपैयाँ लगानी गरेर सुरुवात गर्नुभएको यो ब्यवसायमा ६५÷७० लाख लगानी पुगेको छ । साढे २ रोपनी जग्गामा संचालन गरेको यो ब्यवसायबाट मासिक ३० हजार जति आम्दानी गर्ने गरेको तिमल्सिना बताउनु हुन्छ ।
‘यो पेशाबाट सन्तुष्ट नै छु, निराश हुनुपरेको छैन’ उहाँ भन्नुहुन्छ,‘यो ब्यवसायमा मुख्य समस्या जग्गाको छ । अलिअलि राम्रो भएको बेला जग्गा खाली गर्न जग्गाधनीहरुले भन्ने गर्छन् । फूलको बीउ, मल र खेतालाहरु पनि पाउन मुस्किल छ । जग्गा भाडा काठमाडौंमा त्यतिकै महंगो छ तर पनि जे जस्तो भएनी घर ब्यवहार चलिरहेको छ ।’ उहाँको परिवारले यो ब्यवसायमा साथ र सहयोग गर्नु भएको छ । यो बर्ष दशै तिहारमा २ लाख जतिको व्यापार भएको उहाँ बताउनुहुन्छ ।
कमल सुब्बा: सञ्चालक कमल कट फ्लावर नर्सरी
कमल सुब्बाले कमल कट फ्लावर नर्सरी संचालन गरेको १६ बर्ष भयो । यो नर्सरी गोदावरी नगरपालिका वडा नम्बर ३ मा छ । बाल्यकालदेखि नै कृषि ब्यवसायमा रुची रहेको उहाँ बताउनुहुन्छ । त्यस अन्तर्गत नै कृषि मै फुल ब्यवसाय सुरु गर्नु भयो । ३ हजार लगानी गरेर सुरुवात गरेको यो ब्यवसायलाई उहाँले ७०/८० लाखसम्म पुर्याउनु भैसक्यो । अहिले उहाँले २५ रोपनीमा खेती गर्दै हुनुहुन्छ ।
तर उद्देश्य भने २ सय रोपनी पुर्याउने रहेको सुब्बाले बताउनुभयो । उहाँको नर्सरीमा बार्षिक ६० लाख बराबरको कारोबार हुने गर्दछ । यो ब्यवसायले आत्मनिर्भर बनाएको र आफू सन्तुष्ट रहेको उहाँ बताउनुहुन्छ । आफुलाई सबल आत्मनिर्भर बनाउन कृषि पनि एउटा राम्रो काम भएको कारणले सबैलाई आत्मनिर्भर हुन र बिदेशी आयात रोकेर युवालाई यसैमा लगाउनुपर्ने कमल सुब्बाको धारणा छ ।












