Ad #144479

७ मंसिर, दमौली ।  शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी र शुक्लागण्डकी नगरपालिका–९ को घारीलाई जोड्ने गरी पक्की पुल निर्माण हुने भएको छ । गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाको पहलमा सेती नदीमाथि पक्की पुल निर्माण हुन लागेको हो ।

शुक्लागण्डकी र स्याङ्जा जिल्लाका सेतीपारीका बासिन्दाको सहज आवतजावत र कृषि उत्पादनको व्यवसायीकरणलाई सहयोग पु¥याउन पुल निर्माण गर्न लागिएको प्रदेशसभा सदस्य कोइरालाले जानकारी दिनुभयो ।

“यस ठाउँमा पक्की पुलको अति आवश्यकता थियो, सोहीबमोजिम नै गण्डकी प्रदेश सरकारले पक्की पुल निर्माणको लागि प्राथमिकता दिएको छ”, उहाँले भन्नुभयो । कोइरालाले प्राविधिकबाट पुल निर्माणका लागि प्रारम्भिक अध्ययन भइसकेको र अब छिट्टै विस्तृत सर्वेक्षण प्रतिवेदन ‘डीपीआर’ तयार हुने जानकारी दिनुभयो ।

यहाँ मोटरेबल पुल नहुँदा दुलेगौँडाको पुल्चोक हुँदै घारी जानुपर्ने बाध्यता छ । पुल निर्माणपछि वारिपारी गर्न दूरीसमेत छोटिनेछ । स्थानीयवासीको भेलाले पुल निर्माणका लागि शरण सापकोटाको अध्यक्षतामा १९ सदस्यीय उपभोक्ता समितिसमेत गठन गरेको छ । समितिको उपाध्यक्षमा सन्तु ढकाल, सचिवमा अस्मिता खनाल, कोषाध्यक्षमा नवराज तिवारी र सहसचिवमा सुमन श्रेष्ठ चयन हुनुभएको छ ।

समितिको सदस्यमा विशाल केसी, अनिषकुमार ढकाल, हरिलाल रिमाल, उदयराज गुरूङ, मुक्ति सापकोटा, सुरेन्द्र तामाङ, रमेश भुजेल, टेकनारायण कोइराला, राजु श्रेष्ठ, अप्सरा भण्डारी, शर्मिला विश्वकर्मा, विनोद वाग्ले र बुद्धिमाया गुरूङ रहनुभएको छ ।