ट्यांकरभित्रै प्वाल पारेर पेट्रोल चोरी, कारबाहीको लागि विभागलाई पत्राचार

ट्यांकर भित्रै स्थायी फल्स च्याम्बर अर्थात प्वाल बनाएर पेट्रोल चोरी हुने गरेको खुलासा भएको छ । भारतको बरौनीबाट काठमाडौंको थानकोट डिपोमा पेट्रोल ढुवानी गर्ने दुईवटा ट्यांकरले यसरी पेट्रोल चोरी गर्ने गरेको खुलासा भएको हो ।

वीर बेताल आशिर्वाद कम्पनीको ना ७ ख ३९९६ र ना ७ ख २९९५ नम्बरका दुईवटा ट्यांकरमा मापदण्ड विपरीत थप अर्को च्याम्बर बनाएर चोरी गर्ने गरेको भेटिएको हो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलका अनुसार स्थायी रुपमै वेल्डिङ गरी ट्यांकरमा नयाँ च्याम्बर बनाएर चोरी गरेको भेटिएको हो । प्रारम्भिक अध्ययनमा एउटा ट्यांकरले एक पटकमा झण्डै एक लाख रुपैयाँ बराबरको एक हजार लिटर पेट्रोल चोरी गर्ने गरेको देखिएको उनको भनाइ छ । प्राविधिक बाहेकले पत्ता लगाउन नसक्ने गरी जडान भएको फल्स च्याम्बर मालिकको मिलोमतो बिना चालक मात्रैले गर्न नसक्ने निगमको अनुमान छ ।

पेट्रोल चोरी गर्ने सो ट्यांकरका मालिकहरु प्रज्ज्वलराज भट्ट, दीपेन्द्र बहादुर बम र सदेन व्यञ्जनकार रहेको पनि निगमको भनाई छ । पेट्रोल चोरीमा संलग्न ट्यांकरलाई निगमले १५ लाख रूपैयाँ हर्जना तिराउने प्रारम्भिक निर्णय भएको भएको छ । थप कारबाहीको लागि गुणस्तर तथा नापतौल विभागलाई पत्राचार गरिएको पनि निगमले जनाएको छ ।

[sidebar name="button post"]