जुम्लाको चन्दननाथ नगरपालिकाका जेष्ठ नागरिक समाजिक सुरक्षा भत्ताको आशमा रहेका छन् । पहिलो चौमासिकमा पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता नपाएपछि जेष्ठ नागरिकको दशैं नरमाइलो बनेको छ । पटक–पटक भत्ता दिन आग्रह गर्दा पनि नगरपालिकाले सुनुवाई नगरेको जेष्ठ नागरिक पुर्णबहादुर खत्रीले चार महिनादेखि भत्ता नपाएको बताउनुभयो ।
“दशैं जसोतसो मनाइयो, तिहार कसरी मनाउने होला भन्ने चिन्ताले पिरोल्न थालेको छ”, उहाँले भन्नुभयो, “भत्ता नपाउने छाँटकाँट देखेपछि रु एक हजार लुकाएर राखेको रुपैयाँले दशैं मनायौँ ।”
जेष्ठ नागरिकको आयस्रोत भनेको सामाजिक सुरक्षा भत्ता भएको हुनाले जेष्ठ नागरिक अन्योलमा परेका हुन् । उहाँहरु बिरामी पर्दादेखि चाडपर्व मनाउनका लागि भत्ताको रकम खर्च गर्दै आइरहेका छन् । हरेक चौमासिकमा रु आठ हजार पाउने गरेको खत्रीले बताउनुभयो । जेष्ठ नागरिक सङ्घ जुम्लाका अध्यक्ष तिर्थराज भारतीले जेष्ठ नागरिकलाई साथ दिने निकाय स्थानीय तह आएपछि घटेको बताउनुभयो ।
चन्दननाथ नगरपालिकामा ७२० जेष्ठ नागरिक, एकल महिला ३४५, बालबालिका एक हजार चार सय, अपाङ्गगता भएका व्यक्ति १६६ रहेका नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका प्रमुख भक्तीलाल बुढाले बताउनुभयो ।












