मन्त्रिपरिषद् बैठकले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यसअघि गरेको निर्णय सच्याउँदै सरकारी अस्पतालमा अब कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।
यसअघि निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरु आफै खर्च बेहोर्नुपर्ने निर्णय भएकोमा अब सरकारी अस्पतालमा कोरोना संक्रमित सबैको निःशुल्क परीक्षण र उपचार गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।
सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारले पूर्ववत निर्णय उल्टयाउँदै सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।
बैठकले कोरोनाको भ्याक्सिन बन्नासाथ नेपालमा ल्याउने पहल गर्न अर्थ, परराष्ट्र र स्वास्थ्य सचिव रहेको कमिटी समेत बनाउने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए ।
यसैगरी बैठकले मन्त्रिहरुको आगामी चैतसम्मको तलबको ५० प्रतिशत कट्टा गरी कोभिड–१९ कोषमा जम्मा गर्ने निर्णय भएको उनले जानकारी दिए ।









