आजदेखि यो बर्षको बडादशैँ सकिदै छ अथवा हामी दशैँलाई बिदा गर्दै छौ । अब दशैँलाई बिदा गरेसँगै नेपालीको घर आँगनमा तिहारले आगमन गर्दै छ । यसवर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ ।
तिहारमा सयपत्री तथा मखमली फूलको मालाको खपत हुने गर्छ । तर यसवर्ष तिहार अगाडि नै सयपत्री फूल फुलिसक्ने भएकाले मागअनुसार फूल आपूर्ति हुन नसक्दा बजार प्रभावित हुने देखिएको छ । तर व्यवसायीहरुले भने तिहारमा स्वदेशी उत्पादनले नै फूलको माग धान्ने बताएका छन् ।
त्यसैले यसपटक तिहारमा फूलको बजार प्रभावित हुने अनुमान गरिएको छ । किसानहरुले लगाएको सयपत्री फूल फुल्ने समयभन्दा पछाडि तिहार परेकाले फूलको बजारमा असर पर्ने आकलन गरिएको हो । तर पुष्प व्यवसायीहरु भने क्यालेन्डरको आधारमा फूल खेती गरिएकाले नेपाली उत्पादनले नै यस वर्षको मागलाई सहजै धान्ने बताएका छन ।
तेसाे त गत वर्षको तिहारमा करिब २५ लाख माला खपत भएको थियो । जसमध्ये मखमली माला ५ लाख र सयपत्री माला २० लाख रहेको थियो । यस वर्ष भने कोभिड–१९ संक्रमणको जोखिमका कारण फूलको माग कम हुने आकलन गरिएको छ । यस वर्ष १२ देखि १५ लाख मालाको माग हुने अनुमान गरिएको र सबै मालाको आपूर्ति स्वदेशी उत्पादनबाट हुने छ यस वर्ष फूलको मूल्य भने केही महँगो पर्ने भएकाले सयपत्री फूलको एउटा मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म पर्न भएकाे छ ।
फेरि केही दिनदेखि बढेकाे चिसोले फूल झाँगिन नसक्ने र फुलेको फूलसमेत सुक्ने भएकाले तिहारसम्म सयपत्री फूललाई जोगाइराख्न समस्या हुन सक्ने देखिएकाे छ । तिहार पछाडि भए पनि नेपालमा उत्पादित फूलले बजारको मागलाई धान्ने भएकाले बाहिरी मुलुकबाट फूल आयात गर्न नहुने व्यवसायीहरुको भनाइ छ ।
अन्य मुलुकबाट नआउँदा आन्तरिक फूलको मूल्य बढ्छ भन्ने बुझाइले गर्दा आत्मनिर्भर भइसकेको अवस्थामा पनि फूल आयात हुने गरेको व्यवसायीहरुले गुनासो गरेका छन् । गत वर्षको तिहारमा करिब १० लाख फूलका माला भारतबाट आयात भएको थियो ।









