Ad #144479

बालविवाह रोक्न लुम्बिनी प्रदेशमा १५ दिने अभियान सुरु भएको छ । अभियान अन्र्तगत लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा गरी १२ सय बढी कार्यक्रम हुने भएका छन् । बालविवाह नरोकिएको गुनासोपछि प्रदेश प्रहरी कार्यालय दाङले १५ दिने अभियान सुरु गरेको हो ।

बालविवाह रोक्न र निरुत्साहित गर्न कार्तिक २८ गतेसम्म अभियान सञ्चालन गर्ने प्रदेश प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ । नगरपालिका, गाउँपालिका, वडा कार्यालय र विभिन्न संघसंस्थासंग समन्वय गरेर १२ सय ३१ वटा जनचेतनामुलक कार्यक्रम गर्ने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो ।

बालविवाहकै कारण शारिरीक तथा मानसिक समस्या, घरेलु हिंसा, सामाजिक, आर्थिक र पारिवारीक समस्यासँगै अपराधिक कृयाकलाप समेत हुने भएकाले यसको न्युनिकरणका लागि पहिलो पटक प्रहरीले यो अभियान थालेको वरिष्ठ प्रहरी उपरीक्षक वैदवारले बताउनुभयो ।

अभियानलाई सफल बनाउन प्रहरी कार्यालय, बजार र राजमार्गमा ब्यानर तथा प्लेकार्ड राख्ने, डिउटीमा रहेका प्रहरीबाट प्लेकार्ड देखाउने, बढी भिडभाड र हिँडडुल हुने ठाउँमा पोष्टर टाँस्ने, माईकिङ गर्ने, विभिन्न संचार माध्यमबाट अभियानको जानकारी गराउने लगायतका कार्यक्रम राखिएको छ । २० वर्ष नपुग्दै गरिने विवाहलाई नेपालको संविधानले बालविवाह मानेको छ । अशिक्षा, बेरोजगारी, गरिबी, दाइजो, विभेद र माया प्रेमका कारण बालविवाह हुने गरेको प्रहरीले बताएको छ ।