महामारी र विपत्तिमा सरकार नागरिककाे साथमै छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र विपत्तिमा नागरिकलाई राज्यको साथ रहने बताउनु भएको छ । आज देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व मनाउन सबैलाई आग्रह समेत गर्नुभएको छ ।

उहाँले कोरोना महामारीबाट नागरिकलाई बचाउन तथा स्वास्थ्य उपचार गर्न सरकार आफ्नो कर्तव्यबाट विमुख हुन नसक्ने भन्दै हरेक नागरिकको परीक्षण र उपचारमा यथोचित् व्यवस्था मिलाएको बताउनुभयो । ‘नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारका सम्वन्धमा सरकार विमुख हुन सक्दैन,’ सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अनिश्चय र आशंकाको बीचमा विगतमा भन्दा फरक ढंगले चाडपर्व मनाउनु परेको छ । संक्रमणको ख्याल गर्नुपर्ने भएको छ । त्यसप्रति विशेष सजग भएर मनाउन आग्रह गर्दछु ।’

प्रधानमन्त्री ओलीले नेपालीहरुको ठूलो चाड, बडादशैँ अवसरमा देशवासीको नाममा सम्बोधन गर्दै बडा दशैँ लगायतका हाम्रा चाडपर्वहरु यत्तिकै प्रचलनमा आएका होइनन् । विभिन्न ऐतिहासिक पृष्ठभूमिका आधारमा हाम्रा चाडवाडहरुको विकास भएको बताउनु भएकाे छ ।

सम्बोधनकै क्रममा ओलीले समाज निर्माण हुने क्रममा, सभ्यताहरु विकसित र सुगठित हुने क्रममा यस्ता चाडपर्वहरु निर्माण भएका छन् । सामाजिक सुप्रबन्ध कायम गर्नका लागि निर्माण भएका यस्ता चाडपर्वहरु, समयक्रममा हासिल भएका अनुभव र अनुभूतिहरुबाट समृद्ध हुँदै प्रयोग र प्रचलनमा रहेका हुन् । नाता, साइनो र सम्बन्ध, तिनको महत्व र मर्यादा एवं तिनको परिपालना र सुप्रबन्धका लागि हाम्रा पूर्वज र अग्रजहरुले बहुतै बुद्धिमत्ताका साथ यस्ता विभिन्न चाडपर्व र उत्सवहरुको विकास गरेका हुन् ।

यी चाडवाडहरु केवल पर्व र उत्सवहरु मात्रै होइनन्, सामाजिक प्रबन्धका आधारहरु हुन् । हाम्रो सभ्यता, हाम्रो संस्कृति र हाम्रा मूल्य मान्यताहरु यिनै सामाजिक प्रबन्धहरुका आधारमा विकसित भएका छन् । खासमा चाडपर्वहरु समाजलाई एकीकृत र आकर्षित गर्ने चुम्बकहरु हुन् । साथै, समाजलाई सहज सञ्चालन गर्ने लुब्रिकेन्टस हुन् । त्यसैले, यी चाडपर्वहरुका सकारात्मक अन्तर्यहरु, जो महान् र जिवन्त छन्, यिनलाई अपनाउनु र अगाडि बढाउनु आवश्यक छ । त्यसैले यस्ता चाडपर्वहरुलाई नितान्त पुरातन मान्यताका रुपमा मात्रै बुझ्दा र अस्वीकार गर्दा सिङ्गो समाजलाई निरर्थक, निरस र प्रयोजनहीन जस्तो बनाउँछ ।

तर चाडवाडका नाममा हुने गरेका केही नकारात्मक पक्षहरुलाई भने हटाउनु आवश्यक छ । औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् । यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वहरुलाई मितव्ययी र उचित बनाउन हामी सबै सजग र सचेत रहनु आवश्यक छ बताउनु भएकाे छ ।

[sidebar name="button post"]