४ कार्तिक, काठमाडौँ । भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख सामान्तकुमार गोयल दोस्रोपटक काठमाडौँ आएका छन् । इण्डियन एयर फोर्सको विशेष चार्टड विमानमा गोयल काठमाडौं आएका हुन् ।
गोयलसँगै रअका केही उच्च अधिकारी पनि काठमाडौं आएका छन् । गोयललाई लिन नेपालको अध्यागन विभागका अधिकारी र सुरक्षाकर्मीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए । अध्यागमनको रेकर्डमा भ्रमण तालिका नरहने गरी अध्यागमन विभागका अधिकारी नै विमानको छेउमा पुगेर उनलाई भीआईपी कक्षबाट बाहिर निकालिएको थियो ।
भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेको कार्तिकमा हुने नेपाल भ्रमणको तयारी स्वरुप उनीहरु काठमाडौँ आएका बताइएको छ । काठमाडौंको सुरक्षा तयारी र व्यवस्था हेरेर गोयल काठमाडौं आएका हुन् ।
उनीहरु बुधबार नै भारत फर्किनेछन । लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रलाई संविधान संशोधन गरेर नेपालले आफ्नो नक्सामा समेटेपछि सेना प्रमुख नरवाणेले विवादस्पद अभिव्यक्ति दिएका थिए । जसको नेपालमा चर्को आलोचना भएको थियो । सोही कारण पनि रअका प्रमुख नै सुरक्षा व्यवस्था हेर्न अगाडी काठमाडौं आएका हुन् ।
त्यतिबेला विवादास्पद अभिव्यक्ति दिएपछि विवादमा परेका भारतीय सेना प्रमुखलाई समय मिलाएर जवाफ दिने नेपाली सेनाले जनाएको थियो । रअका प्रमुख गोयल यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन गरेलगत्तै पनि काठमाडौं आएर उच्च राजनीतिक भेटघाट गरेर फर्किएका थिए ।












