कार्तिक ३, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिनुभएको छ ।
काँग्रेसको संसदीय दलका नेता समेत रहेका सभापति देउवाले सांसदहरुको दशैँ खर्च सरकारले कोभिड–१९ सङ्क्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर फिर्ता गर्नका लागि निर्देशन दिनुभएको हो ।
काँग्रेस संसदीय दलको बैठकलेपछि अनुमोदन गर्ने गरी सभापति देउवाले दिनुभएको निर्देशन अनुसार आजै सबैलाई पत्राचार गरिने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो ।
प्रमुख सचेतक खाँणले कोरोना सङ्क्रमणबाट नागरिकको जीवनरक्षा गर्ने पहिलो दायित्व र कर्तव्य सरकारको भएको बताउनुभयो । उहाँले सङ्कटको अवस्थामा कोरोना सङ्क्रमितलाई अस्पताल नआउनुस् भन्ने र परीक्षण तथा उपचार निःशुल्क नगर्ने सरकारको निर्णय गैरजिम्मेवार भएको भन्दै निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ ।













