कार्तिक ३, नेकपाका सांसद एवं पूर्वमन्त्री गोकर्ण विष्टले दसैँ भत्ता फिर्ता गर्नुभएको छ । आफ्नो खातामा जम्मा भएको रकम बराबरको चेक काटेर उहाँले संसद सचिवालयमा फिर्ता पठाउनुभएको हो ।
विष्टले संसद सचिवालयका महासचिवलाई पत्र पठाउँदै अहिले कोरोनाका कारण देशले चरम संकटको सामना गरिरहेको बताउनुभएको छ । साथै उहाँले लाखौं श्रमिकले पूर्ण वा आंशिक रुपमा रोजगारी गुमाएको, चउरमा थाल थापेर छाक टार्ने अवस्था देखा परेको पत्रमा उल्लेख गर्नुभएको छ ।
‘कोरोना र अन्य रोगका बिरामीले उपचारको लागि अस्पतालको शैया समेत नपाउने अवस्थामा अनावश्यक खर्च र कतिपय सुविधा समेत कटौती गरेर नागरिकको उपचारमा केन्द्रित हुनुपर्ने अवस्था देखा परेको छ’ उहाँले पत्रमा लेख्नुभएको छ,‘यस्तो अवस्थामा दशैँ भत्ताका नाममा दिएको सुविधा बापतको रकम उपचार र राहतमा सहयोग होस्, मैले फिर्ता गरेकाे छु ।’













