बाग्मती सफाइ महाअभियान ३८८औँ हप्तामा : घटस्थापनाको दिन पनि बाग्मती सफाइ रोकिएन

बाग्मती सफाइ महाअभियानको ३८८औँ हप्तामा नदी किनारको गुह्येश्वरी, पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण नदी किनारमा बसोबास भएका अभियानकर्मीले सफाइ अभियानलाई निरन्तरता दिएका हुन्। विगत सात वर्षदेखि जारी रहेको बाग्मती सफाइ महाअभियान घटस्थापनाको दिन पनि रोकिएन ।

कात्तिक ८ गते महाअष्टमीका दिनसमेत महाअभियानलाई निरन्तरता दिइने भएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको थियो । यसैगरी अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ ।

यसैगरी उपत्यकाका रुद्रमती, विष्णुमती, मनोहरा, चक्रपथलगायत स्थानमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरी सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि चाडपर्व, जाडो, झरी जस्तोसुकै अवस्थामा पनि अभियानकर्मी नदी किनारमा उपस्थित भई अभियानलाई निरन्तरता दिँदैआएका छन् ।

बाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदीका साथै देशभर १०६ स्थानमा अभियान शुरु भएको छ ।

[sidebar name="button post"]