भाषा बाँचे जाति बाँच्छ : नेपालभाषा, लिपि, नेपाल संस्कृतिलाई जोगाउने  कार्यमा अग्रसर व्यक्ति पबित्र  कसा:

समिता श्रेष्ठ

“भाषा म्वाःसा जाति म्वाइ अर्थात् भाषा बाँचे जाति बाँच्छ” स्वर्गीय महाकवि सिद्धिदास महाजुको सय बर्ष अगाडीको गहन अर्थ रहेको यो भनाई आजको समयमा पनि अति सान्दर्भिक छ । कुनै पनि जातिको मूल  तथा महत्वपूर्ण पहिचान भनेकै त्यसको जातिय भाषा वा मातृभाषा हो ।

नेवाः जाति आफै पनि एउटा भासिक समुदाय भएकोले यस जातिलाई जनाउने र पहीचान गराउने मुल कुरा नेपाल भाषा नै हो  । तर अहिले नेपाल भाषा लोप हुने डर पनि त्यति नै रहेको छ । आफ्नो मातृ भाषा नेपाल भाषालाई लोप हुन नदिनको लागि नेपाल भाषा, लिपि, नेपाल संस्कृतिलाई जोगाउने  कार्यमा अग्रसर व्यक्तिको रुपमा पबित्र  कसा: पनि हुनुहुन्छ ।

उहाँलाई नेपाल भाषाको गायक, संगीतकार, नेपाल भाषाको रेडियो प्रस्तोता र नेपाल लिपिको गुरुको रुपमा पनि चिन्न सकिन्छ । वहाँ हाल नेपाल लिपि गुठी संस्थाको सचिव भई नेपाललिपि, रञ्जनालिपि जस्ता नेपालका प्राचीन तथा मौलिक लिपिहरु सिकाउने र प्रवर्द्धन गर्ने अभियानमा लागी रहनु भएको छ ।

जन्म, पढाई   परिवारिक वातावरण अनि प्रेरणा

नेपाल संवत १०८७ प्वहेला थ्वः पंचमि तिथि ( बिक्रम संवत् २०२३ साल माघ २ गते ) नेपालभाषामा  केलत्वाः भनिने काठमाण्डौको  केलटोल  चोखापिने भन्ने ठाउँमा उहाँ जन्मनु  भएको  हो । उहाँको परिवारमा हाल उहाँको आमा, दुई जना भाई, एकजना भाईबुहारी,छोरी र भतिजी हुनुहुन्छ । उहाँको बाल्यकाल सामान्य किसिमले नै बित्यो भने गायन बाल्यकाल  देखिकै रुचिको बिषय रह्यो।

उहाँले बि.एस्सिसम्म अध्ययन गर्नु भएको छ। गायन क्षेत्रमा लाग्न  उहाँको प्रथम  प्रेरणा स्रोत उहाँको परिवार नै हो । त्यसपछि स्कुल, कलेजका साथीहरू र गुरुहरु  हुन् । उहाँको स्वर मन पराएर सबैले उहाँलाई गाउन प्रोत्साहन गर्नु हुन्थ्यो । उहाँ भन्नुहुन्छ “नेवार समुदायमा जन्मिएको भएर पनि होला । त्यसमाथि पनि मेरो बुबा बुद्धिवीर सिंह कंसाकार गुंला बाजा अर्थात धाः बाजा राम्रो संग बजाउने ब्यक्ति हुनुहुन्थ्यो ।

हजुरबुबा रत्नबिर सिंह कंसाकार निकै राम्रो र त्यति बेलाको लोकप्रिय तबलाबादक हुनुहुन्थ्यो । काठमाण्डौं उपत्यका र आसपासको क्षेत्रमा हुने भजनमा  “भाइसाहु”  नामबाट  परिचित लोकप्रिय तबलाबादक हुनुहुन्थ्यो । हजुरआमाले पनि नेपालभाषाको विभिन्न गीतहरु सुनाउने र गाउन लगाउने गर्नुहुन्थ्यो । मेरो आमा रत्नदेवि कंसाकार पनि सँधै जसो गीत गाउनु हुन्थ्यो ।

आमाको स्वर एकदमै राम्रो छ। त्यस्तै काका त्रिरत्न कंसाकारले पनि गितार बजाउने र गीत गाउन लगाउने गर्नु हुन्थ्यो । यसरी  घरपरिवार, साथीहरू र स्कुलको गुरुहरु नै प्रेरणाको स्रोत हो । उहाँहरु कै प्रेरणा, साथ र हौसलाबाट नै आज यो क्षेत्र  सम्म आईपुगेको हो ।” नेवार  समुदायमा विभिन्न जात्रापर्वमा बाजागाजा र गीतसंगीतको विशेष महत्त्व छ ।

संगीत क्षेत्रमा  प्रवेश संघर्ष  

उहाँ सानै देखि गीत गाउने गर्नुहुन्थ्यो । गीत सुनेर  परिवार र साथीहरू सबैले स्वरको प्रशंसा गर्ने र अझ गाउन प्रेरणा दिनुहुन्थ्यो । त्यसै प्रेरणाले आफ्नो आनन्द कुटी विद्यापीठ स्कुलमा हुने कार्यक्रमहरुमा गीत गाउने मौका पाउन थालेँ। उहाँ संगीत क्षेत्रमा नै लाग्छु भनेर लागेको होइन तर साथीहरूसंग गाउँदा गाउँदै यो क्षेत्रमा आउनु भयो।

उहाँ त्यो बेलाको अवस्थालाई चित्रित गर्दै भन्नुहुन्छ ,” त्यो बेला गीत रेकर्ड  गर्न रेडियो नेपाल बाहेक अन्य विकल्प थिएन । रेडियो नेपालमा पनि भ्वाइस टेस्ट दिनु पर्थ्यो । तर जब बाहिर पनि प्राइभेट स्टुडियोहरु खुल्न थाले त्यसपछी अन्य विकल्प पनि भयो । रेकर्डिङ स्टुडियोहरु खोल्न थालेपछि बाहिर रेकर्ड गर्ने र एल्बमको रुपमा क्यासेट निकालेर बजारमा पठाउने चलन चल्यो ।

त्यसै समय बिक्रम संवत् २०४९ साल तिर उहाँ  र  उहाँका दुईजना  साथीहरू प्रभात रिमाल र उमेश रिमाल मिलेर एउटा  खस भाषाको एल्बम निकाल्नु भयो । त्यस एल्बममा एउटा नेपालभाषाको गीत पनि समावेश गर्नुभयो । नेपाल भाषाको त्यो गीत धेरैले मन पराए ।

त्यही गीतबाट  नेपाल भाषाको संगीत क्षेत्रमा उहाँको प्रवेश भयो । उहाँको पहिलो नेपाल भाषाको गीत “मिखा बालाबाला, सँ कुलिकुलि, नानि मय्‌जु तुयु ख्वाः ” हो। उहाँहरुको सांगीतिक समुहको नाम “द स्नोमेन” थियो भने एल्बमको नाम “प्रथम” थियो । यो ठाउँसम्म आउनुको लागि खासै संघर्ष गर्नु परेन ।

किनभने यो ठाउँमा आउनको लागि भनेर एकदम लागि परेको पनि होइन । साथीहरूको लहलहैमा लागेर एउटा दुईवटा गीत गाउँदा गाउँदै नै गायक हुन गएँ उहाँ भन्नुहुन्छ ।

आफू गायक हुनुमा साथिहरुको हात र साथ भएको कुरा थप्दै उहाँ भन्नुहुन्छ ” बेलुकी खाना खाइसके पछि हामी सँधै साथी प्रभात रिमालको घरमा भेट्थ्यौं । ऊसको घरको कौसीमा बसेर गितार बजाउदै गीतहरु गाऊँथ्यौं । एकदिन मैले घरमा भेटाएको नेपालभाषाको गीतिसंग्रह पुस्तकको एउटा गीत देखेँ । गीत हेर्ने बितिकै रमाइलो लाग्यो । अलिकति ख्याल् ठट्टा किसिमको  गीत थियो । मैले लय् हाल्ने कोशिश गरेँ ।

आफुलाई रक् एन्ड रोल गीत मन पर्ने  भएकोले त्यस गीतको लय् पनि त्यस्तै बन्यो । “मिखा बालाबाला, सँ कुलिकुलि, नानि मय्‌जु तुयु ख्वाः , न्हाय् फ्याफः ञ्यताः मनावः न्ह्याबलें स्वःसां ख्वबिलु ख्वाः ” । एकदमै हँस्यौलि  पाराको गीत थियो । त्यो लय हालेको गीत बेलुकि प्रभात र उमेशलाई सुनाएँ । मेरा ति  साथीहरू बाहुन भए पनि म सँग नेपाल भाषामै कुरा गर्थे। उनीहरुले गीत र लय् राम्रो छ भने ।

त्यसै बेला प्रभातले मैले पनि गीत लेखेको छु भनेर देखाए । लय हालेर हेरौं न भनी लय हालेँ। लय राम्रो लाग्यो । गीतको बोल थियो “हिउँ जस्तो तिम्रो मुहार हेरिरहुँ लाग्छ, तिम्रो कालो केश भित्र लुक्न मन लाग्छ ” । रोमान्टिक पाराको  एकदमै रमाइलो गीत । साथीहरूले पनि राम्रो छ भन्यो र जानी नजानी लय हालेर दुईवटा गीत  पूरा गरेँ । लय हाल्दाखेरी बिर्सेला भनेर हामी अलिकति लय हाल्ने बित्तिकै राम्रो लागे तुरुन्तै क्यासेटमा रेकर्ड गरी हाल्थ्यौं ।

यस किसिमले प्रभातले गीत लेख्ने र मैले लय हाल्ने काम गरें । पछि उमेशले पनि दुईटा गीत लेखे । त्यसमा पनि मैले नै लय हालें । त्यसबेला एल्बम निकाल्ने चलन थियो । उमेशले एल्बम निकाल्न प्रडिउसर खोज्न थाले । हामिले ख्याल ठट्टा गर्दा गर्दै एउटा नेपाल भाषाको गीत समेत दश वटा गीत तयार भयो ।

म सानो छँदा मेरो काकाले गाउने र हामी भतिजाहरुलाई गाउन लगाउने एउटा गीत थियो । त्यो गीत मेरो काका रुसमा पढ्दा गाउनु भएको रहेछ । सन् १९६७ देखि १९७२ सम्मको त्यस समयमा रुसमा “नःलि”  नामको सांगीतिक ब्यान्ड नै बनाएर काका र काकाका साथीहरुले गीत गाउने गर्नुहुँदो रहेछ ।

मलाई काकाले सिकाएको त्यो गीत मेरो साथिहरुलाई सुनाउँदा उनीहरुले राम्रो माने र त्यो गीत पनि हामीले नै रेकर्ड गरौं भन्ने कुरा भयो । काकासँग अनुमति लिएर त्यो गीत पनि तयार गर्यौं । यसरि हाम्रो “द स्नोमेन”को “प्रथम” एल्बम तयार भयो ।

आफ्नो सबै गीत संगीत मन पर्ने   पुरस्कार प्राप्त गर्दाको क्षण

एउटा समय काठमाण्डौं उपत्यका भित्रका सम्पूर्ण क्याम्पसहरुमा नेवाः विद्यार्थीहरुको एउटा साहित्यिक संस्था हुने गर्दथ्यो । जसलाई ” पाःलाः ” भनेर भनिन्थ्यो । फरक फरक नामको पाःलाः हुन्थ्यो । यस पाःलाःको काम नेपालभाषाको साहित्यिक कार्यक्रम, हाजिरि जवाफ, वक्तृत्वकला प्रतियोगिता आयोजना गर्नुका साथै नेपालभाषाको साहित्यिक तथा रचनात्मक पुस्तक प्रकाशन गर्नु थियो ।

यसै सिलसिलामा बि.सं २०४९ सालमा त्रि-चन्द्र क्याम्पसको “नेपाल भाषा साहित्य पाःलाः “( नेवाः विद्यार्थीहरुको साहित्यिक संगठन ) को आयोजनामा प्रथम पटक ” अन्तर क्याम्पस नेपालभाषा म्ये धेंधें बल्लाः कासा ” नामक क्याम्पस स्तरिय नेपाल भाषा  गायन प्रतियोगिता आयोजना भयो । उक्त कार्यक्रममा उहाँले किर्तिपुर क्याम्पसबाट भाग लिई स्वर र संगीतमा प्रथम पुरस्कार पाउनुभयो ।

यस प्रकार उहाँले त्यसपछि अमृत साइन्स क्याम्पसको ” निभाः साहित्य पाःलाः ” को साथै अन्य विभिन्न संघसंस्थाको आयोजनामा भएको नेपाल भाषा गायन प्रतियोगितामा उहाँको भाई तथा भाईका साथिहरुले गाउनु भएको विभिन्न गीतमा संगीत विधा तर्फ विभिन्न पुरस्कारहरु पाउन थाल्नुभयो । यसबाट उहाँलाई संगीत क्षेत्रमा लाग्न थप प्रेरणा प्राप्त भयो ।

आफुले गाएको गीतमा  सबैभन्दा मन पर्ने गीत कुन हो भन्ने प्रश्नमा, कसा: भन्नुहुन्छ “आफुले गाएको र संगीत भरेको सबै गीत मन पर्छ । मैले संगीत हाल्दा सबैभन्दा पहिला आमा र मेरो परिवारलाई सुनाऊँछु । उहाँहरुले राम्रो छ भनेपछी मात्रै त्यो गीत संगीत बाहिर सुनाउने गर्छु । म त्यति राम्रो र जाने बुझेको संगीतकार त होइन । तर जति गीतमा संगीत भरेँ राम्रै संगीत भरेँ जस्तो लाग्छ । मैले  अहिले सम्म १५० वटा गीतमा स्वर र ३०/४० वटा गीतमा संगीत हालेको छु । जति गरेको छु आफुलाई राम्रो नै लाग्छ । “

नेपालभाषा नै रोज्नुको कारण राजमतिमा गीत गाउँदाको नबिर्सने पल 

उँहाले सबै खालको गीत गाउने गर्नुहुन्छ । आफ्नै संगीतको गीत भन्दा अरु संगीतकारहरुको गीत उहाँले  सबैभन्दा बढी गाउनु भएको छ । उहाँलाई गीत गाउन लगाउने पहिलो संगीतकार गोविन्द ह्यूमत हुनुहुन्छ । बालमनोविज्ञ गणेश “अपार ” वैद्यजु को रचनामा गोविन्द ह्यूमतजुको संगीतमा तयार भएको बालगीत नै अन्य संगीतकारहरूको संगीतमा गाउनु भएको पहिलो गीत हो ।

उहाँ भन्नुहुन्छ “बिक्रम संम्वत  २०५० साल तिर म, प्रभात रिमाल र द इन्फ्लुएन्स ब्यान्डका विनय स्थापित, राजेन श्रेष्ठ र भुषण स्थापित साथीहरुलाई एउटा रमाइलो र नौलो प्रस्ताव आयो । यो प्रस्ताव हामीलाई मखं त्वाःका अग्रज दाजु भाइराजा तुलाधर र द इन्फ्लुएन्स ब्यान्डका द्रमर निर्मल तुलाधरले ल्याउनु भएको थियो । हामीले विश्व प्रसिद्ध अङ्ग्रेजी  सांगीतिक समुह ” द बितल्स ” को केही गीतहरुको लय्‌मा नेपालभाषाको गीत गाउनु पर्ने ।

हामी एकदम अचम्म र उत्साहित भयौं । हामीले त्यसको लागी रिहर्सलको तयारि गर्यौं । बि.स २०५० साल फागुन महिनामा बितल्सको १२ वटा अङ्ग्रेजी गीतको लयमा ” नेवाः बितल्स” नामबाट नेपाल भाषाको गीति एल्बम निस्क्यो । परंपरागत नेपाल भाषाको गीत सुन्ने बानी भएका नेवाःहरूको लागी यो एकदम नौलो र रमाइलो सांगीतिक प्रस्तुति थियो । एल्बम निस्केको छोटो समयमा नै यसले बजार पिट्यो ।

घरघरमा नेवाःबितल्सको गीत बज्न थाल्यो । काठमाण्डौं उपत्यकामा मात्र नभई पाल्पा, पोखरा, बिराटनगर, धरान जस्तो प्रमुख शहरका साथै नेपाल बाहिर दार्जलिंग, कालिंबुंगका नेवार समुदाय माझ लोकप्रिय भयो । काठमाण्डौं उपत्यकामा हुने विभिन्न सांगीतिक कार्यक्रममा नेवाः बितल्स गाउन अनुरोध आउन थाल्यो । ” नेवाः बितल्स ” नेपाल भाषाको सबैभन्दा धेरै विक्रि भएको र धेरै रुचाइएको एल्बम मध्ये एउटा हो ।

त्यसपछी बि.सं २०५२ सालमा राजमति फिल्ममा ” राजमति वा, मतिना याये वा ” बोलको  गीत गाउने अवसर पाएँ । राजमति फिल्ममा संगीतकार  न्ह्यू बज्राचार्य ज्युले गाउने मौका दिनुभयो ।उहाँ र गीतकार जनकवि दुर्गालाल श्रेष्ठ ज्युले मेरो भ्वाइस टेस्ट लिनुभएको थियो। चलचित्रमा गाउन पाउनु ठूलो कुरा थियो । त्यसैले मलाई गीत गाउने अवसर दिनु भएका फिल्मका निर्माता लक्ष्मीनारायण नेवाःज्युलाई धन्यवाद दिन चाहन्छु ।

तर मेरो बिशेष धन्यवाद साथी महेश स्थापित ज्युलाई दिन चाहन्छु । उहाँले राजमति चलचित्रका निर्माता समक्ष मेरो नाम सिफारिश गर्नु भएको थियो ।  राजमति फिल्मको यो गीत गाउने क्रममा एउटा बिर्सनै नसकिने घटना छ । जुन दिन मेरो भ्वाइस टेस्ट  भयो सोही दिन मलाई एक हप्ता पछी रेकडिङ  गर्ने भनी जानकारी गर्यो । तर सोही राति देखि मलाई नराम्ररि रुघा लाग्यो । म जसरि भएपनि मौका छुटाउन चाहँदिनथें ।

यो मेरो जीवनमा पाएको एउटा ठूलो अवसर थियो । त्यसैले मैले रुघा कम गर्नको लागी दिनको एकपटक एक चक्कि मात्र खानु भनेर दिएको ” एक्तिफेद् ” नामक औषधी दिनको दुई पटक दुई दुई चक्कि तीन चार दिन सम्म खाएर रुघालाई सुकाई छाडेँ । यसरी रुघा निको पारेर गीत रेकर्ड गरेँ। तर अझै यो गीतलाई राम्रो संग सुन्नुभयो भने मेरो रुघा लागेको स्वर सुनिन्छ ।

मलाई चैं त्यो स्वर मन पर्दैन तर श्रोताहरुले भने त्यहि स्वरलाई एकदम मन पराइदिनु भएको छ । यो गीत पनि एकदम लोकप्रिय भयो । यसै गीतले मलाई गायकको रुपमा स्थापित गरायो ।

मैले  विभिन्न संगीतकारहरुको संगीतमा र आफ्नै संगीतको साथै अंग्रेजी भाषाको गीतको लयमा, हिन्दी फिल्मको गीतको लयमा नेपाल भाषाको गीत बनाएर गाएको छु। अहिले सम्म लगभग १५० वटा नेपालभाषाको गीतहरु गाएको छु।

हाम्रो “प्रथम ” एल्बममा  मैले नेपालभाषाको साथै खस नेपालि भाषाको गीत पनि गाएको छु । तै पनि पछी खसभाषाको गीत गाउने त्यति भएन । यसका विभिन्न कारणहरु थियो । पहिलो कुरा त हाम्रो एल्बमको गीत राम्रो हुँदाहुँदै पनि एल्बम चलेन । दोस्रो हामी आ-आफ्नो पेशामा अल्झ्यौ । बेलुकीको हाम्रो भेट पातलिन थाल्यो । सबै ब्यस्त भए । साथीहरुले गीत पनि लेख्न छाडे । अरु संग संगत पनि थिएन र भएन पनि ।

चौथो अलिकति राजनीतिक कारण पनि रह्यो ।  बि.स २०५६ साल जेठ १८ गते सर्बोच्च अदालतबाट  काठमाडौ महानगरपालिकामा नेपालभाषा र धनुषा गाउँपालिकामा मैथिलि भाषालाई कामकाजि भाषाको रुपमा प्रयोग गर्न नपाउने आदेश भयो । यो निर्णय मेरो लागी असह्य भयो ।

देशमा प्रजातन्त्र आईसके पछि पनि सबै जातजाति भाषाभाषीको अधिकारलाई संविधान मार्फत सुनिश्चित गरी राज्यबाट संरक्षण गर्नु गराउनु भनी आदेश हुनुको सट्टा एउटा भाषाको संरक्षणको लागी अन्य भाषालाई स्थानिय निकायमा समेत प्रयोग गर्नबाट वञ्चित गर्ने राज्यको सर्ब्बोच्च न्यायलयबाट भएको अन्यायपूर्ण आदेशले मलाई आफ्नो भाषाको जगेर्ना गर्नको लागी म आफैले गर्नुपर्छ भन्ने दृढ शक्ति प्रदान गर्यो ।

 मेरो श्रृजनशील कलाकारिता अरुको लागी होइन आफ्नै भाषा, साहित्य, कला क्षेत्रको लागी नै हुनुपर्दछ भन्ने मनमा बस्यो । त्यसपछी मेरो संगत नेपाल भाषाका गीतकार संगीतकारहरु संग हुन थाले । गीत पनि नेपालभाषा कै मात्र गाउन थालें ।

बि.सं. २०५३ भदौ देखि मैले रेडियो नेपाल एफ.एम. १०० को गुड नाइट एफ.एम. मा नेपालभाषाको कार्यक्रम चलाउन थाली सकेको थिएँ । मेरो गीतहरु पनि एफएममा बज्न थाल्यो । अन्य संगितकारहरुले पनि गीत गाउन लगाउनु भयो । कार्यक्रम चलाउँदा नेपाल भाषा स्पष्ट बोल्न प्रयास गरेँ ।

मेरो प्रस्तुति राम्रै थियो होला र त मलाई ” नेपाल भाषा एफ.एम. न्यँमि गुठी ” ले पुरुष तर्फ नेपाल भाषाको सर्वश्रेष्ठ कार्यक्रम संचालकको पुरस्कार सहित सम्मान प्रदान पनि गर्यो । नेपाल भाषाको कार्यक्रम चलाउने र नेपाल भाषामा स्पष्ट स्वरले गाउन सक्ने भएको कारण धेरै नै नेपाल भाषाको गीत गाउने मौका पाएँ।” उहाँले २०५८ देखि २०६५ साल सम्म काठमाणडौं महानगरपालिकाद्वारा संचालित मेट्रो एफ.एम.मा पनि नेपाल भाषाको कार्यक्रमा चलाउनु भएको थियो ।

संगीत के हो आफ्नो अनुभव सल्लाह 

गीत संगीतको बारेमा आफ्नो धारणा राख्दै पबित्र  कसा: : भन्नुहुन्छ – ” कुनै पनि सुनिने स्वर नै संगीत हो । यस्तो स्वर हामी जुनसुकै समयमा जुनसुकै वस्तु वा प्राणीले निकाल्दा सुनिराखेको हुन्छौं । तर सबै स्वर संगीत हुन सक्दैन । संगीत हुन त्यसमा एक किसिमको मिठास हुनु पर्दछ । एउटा ताल, एउटा लय हुनु पर्दछ ।

यस्तो मिठासिलो स्वर जुन कानले सुन्दा भित्रि मनसम्म आनन्द आवोस्  ।  कुनै पनि किसिमको तनावबाट मुक्त होवोस् । रमाईलोको अनूभुति होवोस् । आफूलाई त्यसैमा भुलाऊँ भुलाऊँ जस्तो लागोस र पटक पटक सुनिरहुँ जस्तो होस् । राम्रो संगीत त्यही हो । जब त्यो संगीतमा हामी डुब्छौ, गीत गाउँछौँ त्यो बेला हामी मानसिक तनावबाट मुक्त पनि हुन्छौं । त्यसैले संगीत मानसिक रोगको औषधी पनि हो जस्तो मलाई लाग्छ ।

” यो क्षेत्रमा  लाग्न चाहनेको लागि  संगीत बारे थप्दै कसा: भन्नुहुन्छ “संगीत भन्ने क्षेत्र  अथाह, ठुलो  छ । यसमा कोहि सिकेर आउनुहुन्छ र कोहि नसिकेरै पनि आउनुहुन्छ । मैले संगीतको कुरा कहीँ पनि सिकेको छैन । जति गरेँ जति सिकेँ संगतले नै  गरिरहेको र सिकिरेहेको छु । ममा धेरै कमी  कमजोरी छन् । अझै  पनि त्यसरी नै सिक्दै छु । म ब्यवसायिक रुपमै संगीतमै लागिरहेको पनि छुइन ।

त्यसकारण आफ्नो पूरा समय संगीत क्षेत्रमा दिइरहेको छुइन । तै पनि यस क्षेत्रमा आउन चाहने नँया पुस्तालाई ब्यवसायिक रुपमा यसमा लाग्ने हो भने सके सम्म अध्ययन गरेर मात्र आउनुहोस् भन्न चाहन्छु । अचेल सिक्ने माध्यमहरु धेरै छन् । गीतसंगीत सिकाउने इन्तिच्युतहरु छन् र अन्लाईन मिडियाबाट पनि बिना खर्च सिक्न सकिन्छ । त्यस्तो सुविधाहरु धेरै भएकोले सिकेर आए राम्रो हुन्छ ।

अर्को कुरा, गीत संगीत भर्दा होस् वा गाऊँदा होस् शब्दको उच्चारण स्पष्ट बुझिने किसिमको होस् । शब्दको गेडागेडा प्रष्ट छुट्टियोस् । शब्द उच्चारण स्पष्ट हुनुपर्छ भन्ने मेरो मान्यता छ । सुन्ने मान्छेले बुझ्ने हुनुपर्छ । नेपाल भाषाको गीत संगीतमा यसको झन महत्व छ । नेपाल भाषाको शब्दहरु ह्रस्व र दीर्घ, लामो नाकेस्वर, छोटो नाकेस्वरको उच्चारणले अर्थ नै फरक पार्ने भएकोले संगीत हाल्दा यस कुरामा विशेष ध्यान दिने गर्नु पर्दछ ।

सुरुसुरुमा मलाई पनि यस बारे थाहा थिएन । यसको महत्व बुझेपछी विशेष ध्यान दिएर संगीत भर्ने गीत गाउने प्रयास गरिरहेको छु । नेपाल भाषाको गीत संगीत क्षेत्रमा लाग्ने सबैले यस कुरामा ध्यान दिन अनुरोध छ । आवश्यक परे म सघाउन तयार छु ।

हाल गरिरहेको काम उद्देश्य 

ब्यवसायको कुरा गर्दा उहाँ इभेन्ट  भिडियोग्राफि सम्बन्धि काम गर्नुहुन्छ । उहाँले पहिले चलचित्र क्षेत्रमा प्राविधिक भई काम गर्नु भएको रहेछ ।  उहाँले नेपाल चलचित्र विकास कम्पनि, बालाजुमा १९ बर्ष सम्म ल्याव इन्चार्ज भई चलचित्र प्रशोधन सम्बन्धी काम गर्नु भएको थियो ।

साथै, आफ्नै पुर्ख्यौलि एउटा पुरानो कपडा पसल पनि छ र समय समयमा कपडा पसलमा पनि बस्नुहुन्छ । उहाँ हाल पछिल्लो समयमा एक अभियन्ताको रुपमा नेपाल भाषा र लिपि  सिकाउने अभियानमा लागि रहनु भएको छ  । आफ्नो पहिचान र  भाषा बचाउनु पर्छ भन्ने अभियानमा लागिरहेको कारणले पनि गीत गायन र संगीतको कार्यमा पछिल्लो समय कमै समय दिईरहनु भएको छ ।

तर पनि नेपाल भाषाको सांस्कृतिक कार्यक्रमहरुमा भने जाने, गाउने गर्नुहुन्छ । साथै , हाल उहाँ  आफ्नै एकल स्वर तथा संगीतमा जनकवि दुर्गालाल श्रेष्ठ ज्युको एकल रचनामा एउटा एल्बम निकाल्ने तयारीमा हुनुहुन्छ । गीतमा संगीत भर्ने काम सकेको र अब संगीत संयोजन गरी रेकडिङ  गर्न मात्र बाँकि रहेको र त्यही एल्बम निकाल्ने नै रहेको कुरा पबित्र कसा: बताउनु हुन्छ ।

त्यस्तै, उहाँले कोविड-१९ को माहामारीको समयमा भएको लकडाउनलाई सदुपयोग गर्दै लकडाउन भएकै दिन चैत्र ११ गते देखि पच्चीस दिन सम्म फेसबुक लाइभ मार्फत नेपाललिपि, रञ्जनालिपि सिकाउनु भयो ।

त्यसरी नै लकडाउन कै समयमा फेसबुक मै रहेको ” नेवाः युटुब  ” पेज मार्फत लगभग तीन महिना सम्म काठमाण्डौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य ज्यु देखि वडा अध्यक्षहरु, वडा सदस्यहरुका साथै अन्य विभिन्न क्षेत्रमा लागी रहनु भएका विशिष्ट ब्यक्तित्व, गायक, कलाकारहरुको इन्टरभ्यु  तथा सांगीतिक कार्यक्रमको पनि प्रत्यक्ष प्रसारण, रेकड  प्रसारण कार्यक्रम संचालन गर्नु भएको थियो । यसमा अग्रज पत्रकार सुजीव बज्राचार्य ज्यु  र प्राविधिक मित्र योवन शाक्य ज्यु ले साथ दिनु भएको कसा: बताउनु हुन्छ ।

[sidebar name="button post"]