काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले पछिल्लो २० वर्षमा मानव अधिकार उल्लङ्घन गर्ने दुई सय ८६ जनाको नाम सार्वजनिक गरेको छ । आयोगले २० वर्षमा ११ सय ५५ वटा मानव अधिकार उल्लङ्घनका घटनामा कारबाहीको लागि सिफारिस गरेका दुई सय ८६ जनाको विवरण सार्वजनिक गरेको हो ।
आयोगका एक सय ६३ वटा पूर्ण कार्यान्वयन भएका, चार सय ४५ वटा आंशिक कार्यान्वयन भएका र पाँच सय ८७ सिफारिस अझै कार्यान्वयन भएका छैनन् । आयोगका सिफारिस कार्यान्वयनको लागि नेपाल सरकार, सर्वोच्च अदालत, संसदीय समिति, नागरिक समाज र संयुक्त राष्ट्र सङ्घीय कार्यक्रम लगायतबाट प्रयास हुँदा पनि सन्तोषजनक नभएको आयोगले जनाएको छ ।
मानव अधिकार उल्लङ्घन गर्नेमध्ये नेपाल सरकारका पूर्व सचिवसहित १६ जना निजामती कर्मचारी,आठ जना सशस्त्र प्रहरी, पूर्वआईजीपी कुवेरसिंह राणासहित ९८ जना प्रहरी, ८५ जना सेना, ६५ जना माओवादीका नेता तथा कार्यकर्ता, चार जना शिक्षक, दुई जना डाक्टर, सात जना कैदी र एक जना मानवअधिकारकर्मी नै रहेका छन् ।
यीमध्ये ३० जनालाई कारबाही भए पनि दुई सय ५६ जनालाई कारबाही नभएको आयोगले जनाएको छ ।











