असाेज २१, काठमाण्डौ – महानगरिय ट्राफिक प्रहरी महाशाखाले केही दिनभित्रै चाडपर्व केन्द्रित सुरक्षा योजना ल्याउने तयारी गरेको छ । ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्डको विषयलाई केन्द्रमा राखेर विशेष सुरक्षा योजना ल्याउन लागिएको महाशाखाका प्रमुख भीम ढकालले जानकारी दिनुभयो ।
दशैं, तिहार, छठ पर्वको समयमा काठमाडौं बाहिर जाने यात्रुलाई भिडभाड हुन नदिने, टिकट किनबेचमा ठगी हुन नदिने, दुव्र्यवहार रोक्ने लगायत उदेश्य सहित ट्राफिक प्रहरी महाशाखाले गृहकार्य गरिरहेको प्रमुख ढकालले बताउनुभयो ।
यस्तै ट्राफिक प्रहरीले लामो दुरीको गाडीमा दुई जना चालक राखिएको छ की छैन भनेर अनुगमन गर्ने भएको छ ।नागढुंगामा राखिएको एप्समार्फत चालक परिवर्तन गरिएको छ की छैन भनेर हेरिने महाशाखाले जनाएको छ । गएको वर्षदेखि अहिलेसम्म दुईजना चालक नराख्ने पाँचसय गाडीलाई कारबाही गरिएको छ ।
यस्तै महाशाखाले काठमाडौंमा विभिन्न १४ ठाउँमा हेल्प डेस्क राख्ने भएको छ । यसैबीच, पछिल्लो हप्ता काठमाडौंबाट बाहिरिनेको संख्या बढेको छ । केही दिनअघि दैनिक १ हजारको संख्यामा बढिरहेको यात्रुको संख्या हिजो एकैदिन ६ हजारभन्दा धेरे बढेको छ ।
महाशाखाका अनुसार जोर विजोरको कार्यान्वयन नगर्ने गाडीहरु दैनिक १५ सयको हाराहारीमा कारबाहीमा परिरहेका छन् । यस्तै भिडभाड गर्ने, स्वास्थ्यका मापदण्ड पालना नगर्ने गाडीहरु हरेक दिन ७ देखि १५ सयको हाराहारीमा कारबाहीमा परिरहेका छन् ।









