सिरहाको धनगढीमाई नगरपालिकाले नमूना बस्ती बनाउँदै

वर्षाैँदेखि घरबारविहीन आठ दलित परिवारलाई सिरहाको धनगढीमाई नगरपालिकाले सुविधा सम्पन्न बनाइदिएको छ । तराई मधेस समृद्धि विकास कार्यक्रमअन्तर्गत नगरपालिकाले वडा नम्बर १२ का आठ दलित परिवारलाई सुविधा सम्पन्न पक्की घर बनाइदिएको हो ।

वर्षौँदेखि घरबारविहीन कष्टकर जीवन बिताइरहेका विपन्न मुसहर जातिका लागि नमूना बस्ती निर्माण गर्न लागेको नगरपालिकाले पहिलो चरणमा आठ परिवारका लागि सुविधा सम्पन्न घर निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँले जानकारी दिनुभयो । थप ३२ घरपरिवारका लागि घर निर्माण हुने क्रममा रहेको उहाँले बताउनुभयो ।

पूर्वपश्चिम राजमार्गदेखि उत्तरी क्षेत्रमा रहेको सो बस्तीमा ३२ घरपरिवारका लागि नमूना घर बनाउने लक्ष्य लिइएको चौलागाईँको भनाइ छ । खानेपानीका लागिसमेत योजना अघि बढाएको नगरपालिकाले जनाएको छ ।

बर्सेनि घरबार र खानेपानीको अभाव खेप्दै आएको सो बस्तीलाई नगरपालिकाले नमूना बस्तीका रूपमा विकास गर्न लागेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । “हामी वर्षाैँदेखि फुसको छाप्रोमा दिन बिताउँदै आएका छौँ”, स्थानीय श्यामकुमार सदाले भन्नुभयो, “नगरपालिकाले हाम्रो समस्यालाई बुझेर पक्की घर बनाइदिन लागेकाले हर्षित भएका छौँ ।”

[sidebar name="button post"]