कोरोना जितेका डाक्टर भोला रिजालको अनुभव : भन्नुहुन्छ,‘औषधी भन्दा ठुलो सबैको आर्शिवाद पायौँ’

लक्ष्मी चौलागाईं

असोज १४,काठमाडौँ ।सरकारले सुरुबाटै राम्रोसँग कोरोना नियन्त्रणका लागि काम गरेको भए आज यो भयावह अवस्था आउँदैनथ्यो । हाम्रो पनि गल्ती छ । सरकारले मात्र संक्रमण घटाई देला भनेर बस्यौं भने यो गल्ति हुन्छ । सडकमा खुलेयाम हिड्ने, मास्क नलगाउने, दूरी कायम नगर्ने, साबुन पानीले हात नधुने, जुलुस र भिडभाड गर्ने अहिले पनि देखिएको छ ।

पहिला भारतबाट आएका नागरिकलाई कोरोना परिक्षण गरेर घरघरमा पठाउन पाएको भए जोखिम बढ्ने थिएन । उहाँहरु विभिन्न नाकाबाट विभिन्न बाटो भएर आउनु भयो, जसले गर्दा संक्रमण धेरै बढ्यो । अहिले नेपालमा आधा भन्दा धेरै संक्रमण काठमाडौँमा बढेको छ ।

अब अहिले पनि काठमाडौँमा भिडभाड नै छ । स्कुल खुल्न थाले । फिल्म हल र पार्टी प्यालेस, मठमन्दिर मात्रै खुलेको छैन । अहिले पनि हवाई उडान भैरहेको छ । बस गुडेका छन् । कसलाई कोरोना लागेको छ, कसलाई लागेको छैन कसैलाई थाहा छैन । यो त अब तपाईं हामी सबैले नै ध्यान दिनुपर्छ ।

कोरोनालाई केहि पनि हैन भन्न थालिएको छ । यसले के नै हुन्छ र ? भनेर पनि हेलचेक्राई गर्न थालिएको छ । हामी दुई जना संक्रमण भैसकेपछि २२ दिन बसेर फर्केका छौ । २२ दिनको अनुभवमा सबै भन्दा ठुलो कुरा सबैको आर्शिवाद नै रहयो । कोरोना एउटा भाइरल डिजिज् हो ।

यसको संक्रमण हुनु अघि नै आफूलाई संक्रमण भैहाल्यो भने के गर्ने भनेर सचेत रहनुपर्छ । डर त्रासले पहिले नै हात जिउ छोड्नु भएन । संक्रमण भयो भने पनि डराउन भएन । कोरोना भाइरसको संक्रमण कसलाई, कतिखेर, कहिले हुन्छ कसैलाई पनि थाहा हुँदैन । हामीले पालन गर्नुपर्ने सबै कुरा पालना गरौँ । सरकारले जारी गरेका सबै स्वास्थ्य मापदण्डको पालना गरौँ । यति गर्दा गर्दै पनि कै गरी संक्रमण भयो भने पनि डराउने होइन, उच्च मनोबल राखौँ ।

हामी आफुलाई कोरोना संक्रमण भयो भने त्यसपछि आफुबाट अरुलाई कसरी सर्न नदिने, कसरी अरुलाई जोगाउने भनेर ध्यान दिनु कर्तव्य हुन आउँछ । हामी एक जनाको लापरवाहीले गर्दा यहाँ सयौं जनालाई संक्रमण हुन सक्छ । कोरोनाको लक्षण देखा पर्नु एउटा कुरा हो र संक्रमित हुनु अर्को कुरा हो ।

जब हामीलाई लक्षण देखा पर्छ, स्वास फेर्न गार्हो हुन्छ, खानाको स्वाद हुँदैन र अर्को कुरा ज्वरो घट्ने बढ्ने भन्दा पनि बढेको बढ्यै हुन्छ । शरिरमा उच्च तापक्रम हुन्छ अनि घाँटी दुख्ने, खोकी लाग्ने हुन्छ । यस्ता लक्षण देखिन थालेमा अलिकति पनि हेल्चेक्राईं नगरी अस्पताल जानुपर्छ । स्वास फेर्न गाह्रो हुँदा हामीले अक्सिजन लिनुपर्छ, जुन कुरा हामीले पनि अस्पतालमा लियौं ।

अर्को कुरा कोरोनाका भाइरस घाटीबाट फोक्सोमा जाने हुनाले सकेसम्म घाटीमै निर्मुल बनाउनुपर्छ । त्यसैले हामीले बेला बेलामा तातो पानी, बेसार पानी ल्वाङ्ग, सुकमेल, दाल्चनी, ज्वानो पानी जे भेटिन्छ, पानीमा हालेर खायौं । हामीले सकेसम्म २÷२ घन्टामा खायौं । केहि छैन भने पनि बिरे नुन मात्रै भए पनि हालेर खान्थ्यौं ।

र अर्को कुरा घाटी र नाकमा संक्रमण भएको हुन्छ त्यो फोक्सोमा जान नदिनको लागि नजाओस् भन्नका लागि बेला बेलामा तातो पानीको बाफ लिनुपर्छ । जुन हामीले पनि लिएका थियौं । यो भैसकेपछि हामी डराउन हुँदैन ।

हामीले मनोबल उच्च राख्नुपर्छ अरुलाई पनि त्यहि सिकाउन पर्छ । रोग लाग्यो भने त्यहि अनुसारका आचरण र व्यवहार गर्नुपर्छ । कोरोनाका लागि औषधी छैन तर उपचारमा सबै भन्दा ठुलो जुन औषधी छ, त्यो भन्दा पनि माथि हामीलाई सबैले आर्शिवाद दिनुभयो ।

सबैले फोन गर्नुभयो, शुभकामना दिनुभयो । मन्दिरमा गएर कामना गर्नु भयो । उहाँहरुले गरेको मायाकै कारण हामीलाई निको भयो । हामी संक्रमणमुक्त भयौँ तर अब सरकारले मात्र केहि गरेन भनेर भन्नुभन्दा पनि आफैँ सचेत हुनुपर्छ ।

[sidebar name="button post"]