बागमती प्रदेश सरकारले निर्माण गर्ने आयोजनाहरु अपाङ्गमैत्री, महिलामैत्री तथा बालमैत्री हुने बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले बताउनुभएको छ । मन्त्री फुयालले शारीरिक क्षमताका आधारमा नागरिकहरुले प्राप्तगर्ने सेवामा फरक हुन नहुने भन्दै हरेक फरक क्षमता भएका व्यक्तिहरुको समस्याहरुको समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
स्वावलम्बन जीवन केन्द्र, ललितपुरका प्रतिनिधिहरुले बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री फुयालले सरोकारवालाहरुले उठाएका मागहरु जायज र सम्बोधन गर्न अति आवश्यक रहेकोले सरकार माग पुरागर्न तत्पर रहेको बताउनुभयो ।नागरिकले राज्यका तर्फबाट प्राप्त गर्ने कुनैपनि सेवा सुविधाहरुबाट शारीरिक अवस्थाका आधारमा बञ्चित हुनु नहुने मन्त्रि फुयालको भनाइ थियो ।
फुयालले पहुँचयुक्त भौतिक पूर्वाधार निर्माण हुने, विद्युतीय सवारी सञ्चालनका लागि वाग्मती प्रदेशले बनाउन लागेको चार्जिङ्ग स्टेशनहरु र सार्वजनिक शौचालयहरु बाल, महिला तथा अपाङ्गमैत्री बन्ने नीति लिइएको बताउनुभयो । उहाँले सार्वजनिक सडकहरु तथा परिवहन पूर्वाधारहरु अपाङ्गमैत्री हुनेगरी “प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको व्यवस्था गर्न बनेको विधेयक, २०७७” प्रदेशसभामा विचाराधीन रहेको बताउनुभयो ।
सरकारले फरक क्षमताका सबैलाई क्षमता अनुसारका काममा दक्ष बनाउन प्रत्यक्ष भूमिका खेल्ने मन्त्री फुयालले उल्लेख गर्नुभयो । “ हामी सबैले ज्ञान, सिप र संघर्षका माध्यमबाट स्वावलम्बन र आत्मनिर्भरताको श्रृजना गर्न कोसिस गरौं सरकार नागरिकहरुका लागि राज्यका तर्फबाट पुरा गर्नुपर्ने दायित्व प्रति सचेत छ” मन्त्री फयालले भन्नुभयो ।












