काठमाडौँ महानगरपालिकाद्वारा अनलाइन प्रणालीबाट राजस्व सङ्कलन

काठमाडौँ महानगरपालिकाले राजस्व निर्धारण तथा सङ्कलन कार्यलाई अनलाइन प्रणालीमार्फत शुरु गरेपछि यसको प्रभावकारिता बढेको छ ।

काठमाडौँ महानगरपालिकाले यही असोज एक गतेदेखि वडा नं २६ बाट अनलाइन प्रणालीमार्फत राजस्व निर्धारण तथा सङ्कलन कार्य शुरु गरेको थियो । सोही दिन वडा १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ मा पनि यो सेवा शुरु गरिएको थियो । यसको प्रभावकारिता बढेसँगै आजदेखि थप १० वटा वडामा यो सेवा विस्तार गरिएको बताइएको छ । कामपाले वडा नं ५, ६, ७, ९, १२, १४, १६, २८, २९ र ३२ मा यो सेवा विस्तार गरेको जनाएको छ । विगत तीन दिनमा यो प्रणालीबाट २५७ जना करदाताबाट रु ३६ लाख राजस्व सङ्कलन भएको कामपाले जनाएको छ ।

कामपा राजस्व विभागका निर्देशक शिवराज अधिकारीका अनुसार यस प्रणालीको मुख्य काम कर तथा राजस्वको अभिलेखन, कर निर्धारण तथा असुलीसम्बन्धी कामलाई स्वचालित बनाउनु हो । यो हप्ताको अन्त्यसम्ममा महानगरका सबै वडामा यो प्रणाली सञ्चालनमा आइसक्ने उहाँको भनाइ छ ।

कोभिड– १९ को महामारीको यस समयमा सम्भावित सङ्क्रमणबाट बच्न व्यक्ति÷व्यक्तिबीच भौतिक दूरी कायम राख्न पनि यो प्रविधिले ठूलो सहयोग पुग्ने कामपाको विश्वास छ ।

[sidebar name="button post"]