“सङ्कटमा केही दिनभोक खप्न सकिएला तर महिनावारी रोकिँदैन’

गलकोट नगरपालिकाले महिलालाई महिनावारीको समयमा आवश्यक पर्ने सेनेटरी प्याड तथा झोला बनाउन तालिम प्रदान गरेको छ । कोरोनाकहरका बीच सीमान्तकृत समुदायका महिलालाई सामाजिक दूरी कायम गर्दै ती तालिम सञ्चालन गरेको नगरपालिकाकाले जनाएको छ ।

आफ्ना लागि आवश्यक प्याड आफैँ उत्पादन गर्ने तथा विक्री समेत गरी आय आर्जन वृद्धि गर्ने उद्देश्यले तालिम दिइएको हो । चार दिने तालिममा नगर क्षेत्रका करिब १५ जना विपन्न र दलित महिलाको सहभागिता रहेको थियो । नगरपालिकाले महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत पँखेटा नेपालको सहयोगमा सो तालिम सम्पन्न गरेको हो ।

“सङ्कटमा केही दिनभोक खप्न सकिएला, आँशु लुकाउन मिल्ला तर महिनावारी रोकिँदैन,” नगरपालिकाकी उपप्रमुख रेणु काउचा मगरले भन्नुभयो “सङ्कटको बेला स्वास्थ्यको झन ठूलो महत्व हुन्छ भन्ने ठानेर हामीले सुरक्षाका बीच तालिम आयोजना गरेका हौँ ।”

उहाँका अनुसार तालिममा पररम्परागत रुपले सिलाइ पेशामा आवद्ध महिलालाई विशेष प्राथमिकता दिइएको थियो । तालिमको लागि मात्र तालिम नहोस् र त्यसबाट महिलाले व्यावसायिक लाभ पनि लिन सकून् भन्ने हिसाबले तालिमका प्रशिक्षार्थी छनौट गरिएको उहाँको भनाइ थियो ।

[sidebar name="button post"]