रातो मच्छिन्द्रनाथको रथ भत्काउने काम सुरु : एक हप्ता लाग्ने

ललितपूरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ भत्काउने काम भइरहेको छ । सोमबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुंगमती लगिएपछि रथ भत्काउने काम सुरु भएको रथ निर्माणमा संलग्न दिलकुमार बाराहीले बताउनुभयो ।

विगतका वर्षहरुमा जावलाखेलमा भोटो देखाएर खटमा राखेर मूर्तिलाई बुङ्गमति लगेपछि जावलाखेलमा रथ भत्काउने चलन थियो । तर यसपाली कोरोना भाइरसको सङक्रमण जोखिमकका कारण रथजात्रा छोट्टयाएसँगै पुल्चोकमा रथ भत्काउने काम भएको हो ।

रथ निमार्णको लागि तिथीको आधार लिएर बनाउनुपर्ने समयसीमा भए पनि रथ भत्काउन त्यस्तो समयसीमा नभएको बाराहीले बताउनुभयो । बाराही समुदायले रथमा राखिएको सुनको फूल र नाग निकालेपछि मात्र रथको विभिन्न भागबाट काठ निकाल्ने काम हुन्छ ।

रथ पूरै भत्काउन अझै एक हप्ता लाग्ने पनि बाराहीले जानकारी दिनुभयो । यसरी रथ भत्काएर आएको धमा भनिने लामो काठ पुल्चोकमा रहेको धमापाटीमा राखिन्छ । त्यस्तै चार वटा ठुला पाङग्रा जावलाखेलमा रहेको पाटीमा राखिन्छ । जुन अर्को वर्ष रथ बनाउन प्रयोग गरिन्छ ।

त्यस्तै रथ बनाउन प्रयोग गरिएका विभिन्न काठ, बेत र डोरी केहि गुठि संस्थानले राख्छ भने केहि रथको काठ निकाल्न खट्नेहरुका लागि ज्याला बापत दिइन्छ । यंवा समुदाय र बुङ्गमतीका स्थानीयहरुले रथबाट काठ छुट्टयाउने कामको आधा आधा जिम्मेवारी लिएका हुन्छन् । मीननाथको रथ भत्काउने काम पाटनको तंगलमा हुनेछ ।

[sidebar name="button post"]